सरकारले स्थानीय तहको अधिकार खोस्न थाल्योः कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका प्रमुख अर्जुनप्रसाद जोशीले स्थानीय तहहरूले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

विभागद्वारा बुधबार आयोजित एनडीआई, कांग्रेसका नेता तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको भर्चुअल बैठकमा नेता जोशीले स्थानीय तहका जनप्रतिनिधिहरूबाट भएका कामकारबाहीको प्रशंसा गरेका हुन् ।

उनले स्थानीय तहलाई प्राप्त साधन स्रोतको उचित रुपमा प्रयोग भएको बताए । उनले केही छिटफुट घटना बाहेक समग्रमा स्थानीय तहको काम राम्रो रहेको बताएका हुन् ।

पूर्वसांसद समेत रहेका कांग्रेस नेता जोशीले केन्द्र सरकारले स्थानीय तहको अधिकार खोस्न विभिन्न परिपत्रहरू जारी गरेको विषयमा आक्रोश पोखेको विभागका सचिव नहकुल केसीले जानकारी दिए । ‘संघीय सरकारले स्थानीय सरकारको अधिकार खोस्न र अधिकार फिर्ता लिन परिपत्र जारी गर्ने गरेको छ’, प्रमुख जोशीले भने, ‘संघीयता कार्यान्वयनको सबैभन्दा राम्रो उदाहरणीय काम स्थानीय तहहरूले गरेका छन् ।

केन्द्र सरकारबाटनै साधन स्रो वितरणमा भेदभाव गरिएको जोशीले बताए । ‘आफ्नो पार्टीले जितेका स्थानीय तहलाई उल्लेख्य बजेट दिइएको छ । कांग्रेस वा अन्य पार्टीले जितेका स्थानीय तहलाई बजेट वितरणमा भेदभाव भएका छन्’, कांग्रेस नेता जोशीले भने, ‘स्थानीय जनताका लागि भेदभाव हुनु दुःखको कुरा हो ।’

केन्द्र सरकारले कर्मचारीहरूलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको आरोप उनले लगाएका छन् । जोशीले भने, ‘कर्मचारीहरूलाई आस्थाका आधारमा भेदभाव गर्ने कार्य अत्यन्तै चिन्ताजनक विषय हो । यो रोकिनुपर्छ । सबै कर्मचारीलाई समान आधारमा अवसर दिनुपर्छ ।’

कांग्रेस नेता जोशीले नेकपाको केन्द्र सरकारले आफ्ना कमजोरीहरू लुकाउन स्थानीय तहहरूलाई दुःख दिएको समेत बताए । उनले कोरोना महामारीमा स्थानीय तहहरूले प्रशंसनीय काम गरेको बताए ।

उनले केन्द्र सरकारबाट कोरोना रोकथाम र नियन्त्रणमा दिने भनिएको रकम रोकेर राखिएको भन्दै चिन्ता जनाएका छन् । जोशीले केन्द्र सरकारबाट रोकिएको बजेट तत्काल पठाउन माग पनि गरेका छन् ।

नेश्नल डेमोक्रेटिक ईन्स्च्युट (एनडीआई)का राजनीतिक पार्टी निर्देशक डान रेडफोर्डले स्थानीय तहबाट जनताले लिएको सुविधा र सेवाहरूका विषयमा जिज्ञासा राखेका थिए । उनले आवश्यक पर्‍यो भने एनडीआईले सहयोग गर्न तयार रहेको बताएका छन् ।

विभागका सचिव केसीले लोकतन्त्रको सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय अनुभव, स्थानीय तहको सम्बन्धका लागि अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, समावेशी लोकतन्त्र लगायतका विषयमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रमका आधारमा भर्चुअल बैठकमा धारणा राखिएको केसीले बताए । भक्तपुर कांग्रेसका नेता मदनकृष्ण श्रेष्ठले पार्टीभित्र केही समस्या भएपनि त्यसलाई सुधार गरेर जान सकिने बताए । उनले नेकपाभित्रको जस्तै समस्या कांग्रेसमा भित्रिएको बताए ।

सिन्धुली कांग्रेसकी नेतृ गंगा दाहालले राजनीतिमा महिला नेतृत्वको विषयमा नेताहरूले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले राजनीतिक नेतृत्वमा महिलालाई ल्याउन स्थानीय तहबाटनै काम अगाडि बढाउनुपर्ने उल्लेख गरेकी छिन् ।

डोटी कांग्रेसका नेता कुमार टेलरले कांग्रेसले मात्रै दलित समुदायको पीडा बुझ्न सक्नेभन्दै दलितहरूलाई अगाडि बढाउनुपर्ने बताए । उनले कांग्रेसले दलितहरूलाई मूलधारको राजनीतिमा ल्याउनुपर्ने सुझाव दिए ।

विभागले यसअघि कर्णाली, लुम्विनी, सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूसँग छलफल गरिसकेको छ । अब गण्डकी, बागमती, १ र २ नम्बर प्रदेशसँग छलफलको तयारी गरेको छ ।

Published : Thursday, 2020 December 10, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया