राप्रपालाई ओलीले बालुवाटारमा खुट्टा टेक्न नदिने, कमल थापासँग डरले थुरुरु

काठमाडौं । सरकारले संविधान विपरितको गतिविधि गरेको भन्दै सर्वदलीय बैठकमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सर्वदलीय बैठकमा बोलाएको छैन ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बिहान ११ बजे बस्नेछ ।

सो बैठकमा राप्रपालाई नबोलाइएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राप्रपाले संविधान विपरितका गतिविधि गरेकाले नबोलाइएको बताए ।

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको माग गरेर सडक आन्दोलन गर्दै आएको छ । दिन प्रतिदिन सडक आन्दोलन चर्किन थालेपछि प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।

संसदमा राप्रपाको तर्फबाट राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गर्दै आएका छन् । लिङ्देनले झापा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचित भएर आएका हुन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार बस्ने भनिएको सर्वदलीय बैठकमा राप्रपालाई बोलाइएको छ वा छैन भन्नेबारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् । सर्वदलीय बैठकका विषयमा सञ्चारमाध्यमबाट आफूले पनि थाहा पाएको उनले बताएका छन् ।

राप्रपाका अध्यक्ष थापा पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला मकवानपुरमा छन् ।

Published : Tuesday, 2020 December 8, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया