निजामती कर्मचारीलाई १४ दिन बिदा दिन पत्राचार

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिन मातहतलाई पत्राचार गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ दिन बिदा दिने सरकारी निर्णय कार्यान्वयन गर्न र गराउन पत्राचार गरेको हो ।

सोमबार मन्त्रालयले सम्पूर्ण सरकारी निकाय, देशभरका स्थानीय तह र सातै प्रदेशमा पत्राचार गरिको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्रलाई आधार मानेर मन्त्रालयले मातहतलाई पत्राचार गरेको छ ।

कोरोना संक्रमित भएपछि १४ दिन आइसोलेसनमा बस्नुपर्ने स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार सरकारले मंसिर १० गतेको मन्त्रिपरिषद बैठकबाट १४ दिन बिदा दिने निर्णय गरेको थियो ।

१४ दिन बिदा दिने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिएका छन् ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने प्रावधान रहेको छ । कोरोना संक्रमण भएको अवस्थामा बिदा अपुग भएकाले बिदा थप गर्नुपर्ने कर्मचारीको माग रहँदै आएको थियो । सोही मागअनुसार निर्णय भएको छ ।

मन्त्रालयले पठाएको पत्रमा कर्मचारीलाई बिदा दिने निर्णयसँगै सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

Published : Tuesday, 2020 December 8, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया