बालुवाटारमा अर्थमन्त्रीको जन्मोत्सवको रमिता, बडेमानको केक काटेर खाए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलको ६२औँ जन्मोत्सव भव्य रुपमा मनाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाको सचिवालय बैठक बस्नु अगाडि पौडेलको जन्मोत्सव बडेमानको केक काटेर मनाइएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले केक काटेर पौडेललाई खुवाइदिएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिएको सूचनाअनुसार ६२ वर्षीय पौडेललाई एक सय वर्ष बाँच्नका लागि नेताहरूले शुभकाना दिएका छन् । उपाध्यक्ष बामदेव गौतमले पौडेललाई सय वर्षको शुभकामना दिएका हुन् ।

महासचिव पौडेललाई जन्मदिनको शुभकामना दिनुका साथै केक काटेर खुवाएपछि सचिवालयको बैठक शुरु भएको थापाले बताए ।

पौडेललाई प्रधानमन्त्री ओलीका साथै दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठलगायत सबै नेताहरूले शुभकामना दिएका थिए ।

यसअघि पनि ओलीले आफ्नो जन्मोत्सव बालुवाटारमा धुमधामका साथ मनाउने गरेका छन् ।

ओलीले जन्मोत्सव मनाउन तेह्रथुममा हेलिकप्टरबाट नेपालको नक्सा भएको केक लगेर काटेर खाएका थिए । नेपालको नक्सावाला केक काटेको भनेर आलीको आलोचना समेत भएको थियो ।

कम्युनिस्ट नेताहरूले आफ्नो जन्मदिन अर्थात जन्मोत्सवलाई खासै मनाउँदैन थिए । तर, सत्तामा गएपछि उनीहरूले जन्मदिनलाई जन्मोत्सवका रुपमा मनाउन थालेका छन् ।

कोरोना महामारीका कारण जनता मरिरहेका बेला अर्थमन्त्री पौडेलले बालुवाटारमा नेकपाका शीर्ष नेताहरूका बीच जन्मोत्सव मनाएका छन् ।

Published : Tuesday, 2020 December 1, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया