गिरोहसँग मिलेर बैंकको झण्डै ५ करोड हिनामिना गर्ने घले पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले कृषि विकास बैंकको झण्डै पाँच करोड रुपियाँ हिनामिना गर्ने खम्ब घलेलाई पक्राउ गरेको छ ।

५४ वर्षीय घले धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका– १ निवासी हुन् ।

उनलाई कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौं समेतबाट अपराधिक समूहका ब्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर रकम हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु¥याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महाशाखाबाट खटिएको टोलीले मंसिर १४ गते बेलुका काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घलेलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

घलेसहितको समूहले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर ४ करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पुर्‍याएका थियो ।

महाशाखाबाट उक्त घटनाको अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई पक्राउ गरी संगठित अपराध समेतका कसूरमा कारबाही भएको थियो ।

Published : Tuesday, 2020 December 1, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया