यी हुन् पुजारीको हत्यामा संलग्न ‘मास्टरमाइण्ड’हरू, दुई हप्ताभित्रै प्रमाणसहित पक्राउ

काठमाडौं । रौतहट जिल्लामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले बधुबार बिहान दश बजे दुई जनालाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

डीआईजी सिंहले पुजारीको हत्यामा विवाद र रिसिइबी रहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको बताएका छन् ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ का ३६ वर्षीय नरेश भन्ने रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई बिहान १० बजे बौधिमाई नगरपालिका– ७ बंकुल एरियाबाट पक्राउ गरिएको छ । घटनामा अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरूको खोजी कार्य जारी रहेको डीआईजी सिंहले बताएका छन् ।

माधवनारायण नगरपालिका– २ खैस्रैया चौकस्थित हनुमान मन्दिरका पुजारी ६५वर्षीय श्रीराम साहलाई उनीहरूले भदौ ३ गते राति साढे ८ बजे कञ्चटमा गोली प्रहार गरेर हत्या गरेका थिए । हत्या भएको दुई हप्ताभित्र प्रहरीले गोली हान्ने प्रमुख योजनाकारहरूलाई पक्राउ गरेको छ ।

रामनरेश पटेलले कटुवा पेस्तोलले पुजारी साहलाई गोली हानेको प्रहरीले जनाएको छ । बालकुमार पटेलले घटनास्थल नजिकै बसेर मानिसहरूको आवत जावत हेरेका थिए । गोली हानेर उनीहरू फरार भएका थिए ।

अनुसन्धानका क्रममा रामनरेश पटेलको बुबाले पुजारी साहसँग ब्याजमा रकम लिएको खुल्न आएको डीआईजी सिंहले जानकारी दिए । रकम तिर्ने क्रममा पुजारी साह र रामनरेशका बुबाबीच विवाद भएको थियो ।

मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको पानीको धारामा आएर पानी प्रयोग गरेको विषयमा पुजारी र नरेश पटेलबीच विवाद भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत रौतहटमा पेस गरेर दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2020 September 2, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया