मुस्ताङ र भक्तपुरमा बलात्कारमा संलग्न दुई जना पक्राउ

काठमाडौं, १२ भदौ । मुस्ताङ र भक्तपुरमा दुई जना बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

मुस्ताङ जिल्लामा प्रहरीले १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १ बस्ने रुकुम पूर्व जिल्ला पुथाउत्तरगंगा गाउँपालिका– ९ घर भएका २७ वर्षीय टेकप्रसाद सुनारलाई पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यता, भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर महानगरपालिका– २ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय सृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई माघ २६ गते भक्तपुर महानगरपालिका– १ दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका– २ औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

Published : Friday, 2020 August 28, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया