नेकपाका जनप्रतिनिधिद्वारा सिन्धुलीमा दुई महिला बलात्कृत, पक्राउ परे पुजारी

सिन्धुली । सिन्धुली जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित जनप्रतिनिधिले दुई जना महिलालाई यौन दुर्व्यवहार गरेपछि पक्राउ परेका छन् ।

हरिहरपुरगढी गाउँपालिका–८ का ३७ वर्षीय वडा सदस्य जंगबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीलाई दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ ।

नेकपाका स्थानीय नेता समेत रहेका वडा सदस्य माझीलाई पक्राउ गरी सोमबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणीअन्तर्गतको कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले महिलामाथि यौन दुर्व्यवहारको अभियोगमा वडा सदस्य माझीलाई पक्राउ गरि अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिएको जानकारी दिए ।

पीडित महिलाले किटानी जाहेरी दिएपछि मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया पनि शुरु गरिएको प्रहरी प्रवक्ता खत्रीले बताएका छन् ।

पक्राउ परेका वडा सदस्य माझीले आफू हरिहरपुरढी गाउँपालिका–८ को भित्रिजमुने र काँस बगर खोलाको बीचमा रहेको जलेश्वर महादेवको पुजारी समेत भएको बताएका छन् ।

०७७ साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ वर्षीया महिलालाई पूजारी माझीबाट बलात्कार गरेको आरोप छ ।

पुजारी समेत रहेका वडा सदस्य माझीले गल्ती स्वीकारेको र गाउँमा नै मिलाइदिन आग्रह गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि गोलञ्जोर गाउँपालिका–७ का नेकपाका वडा कमिटीका साचिव बिदुरप्रसाद देवकोटाबाट १५ वर्षीया बालिका बलात्कृत भएपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् ।

Published : Tuesday, 2020 August 18, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया