कम्युनिस्ट सरकारले कोरोनाबाट संकटमा परेकाहरूबारे कामै गर्न सकेनः कांग्रेस नेतृ डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेशको पखाईमा रहेका थुप्रै नेपालीहरू अहिले पनि विदेशमा अलपत्र र अप्ठ्यारो परिस्थितीमा रहेको जनाएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार कम्युनिस्ट सरकारका प्रधामनमन्त्री खड्गप्रसाद ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँद उनले विशेष गरेर खाडी मुलुकमा काम गर्न गएका खल्तीमा पैसा नहुने, नेपालबाट मगाउन नसक्ने, टिकटको जोहो गर्न नसक्ने अवस्थामा रहेका बेसाहारा कामदारहरू स्वदेशकै पखाईमा पीडाबोध साथ बसिरहेको बताएकी हुन् ।

चार्टर्ड विमानको चर्को भाडा, मनोमानी रुपमा भाडा निर्धारण गर्न मन्त्रालयस्तरबाटै संस्थागतरुपमा मिलेमतो गरिएको आशंका तथा बेखर्ची, गर्भवती, तथा बिरामी नेपालीहरूलाई निःशुल्क स्वदेश फिर्ता ल्याउनेबारे सरकारले कुनै ठोस पहल गर्न नसकेको उनले बताएकी छिन् ।

‘वैदेशिक रोजगारमा गएर अलपत्र परेका कामदारहरूलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले असार १ गते गरेको अन्तरिम आदेशअनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गरियोस्’, उनले माग गरेकी छिन् ।

उनले भनिन्, ‘स्वदेश ल्याईसकेपछि सक्ने कामदारले क्वारेन्टिनको व्यवस्था आफै गरे पनि नसक्ने कामदारको लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरूसंग समन्वय गरी निःशुल्क क्वारेन्टिनको व्यवस्था मिलाइयोस् ।’

Published : Friday, 2020 June 26, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया