माओवादीकाे सांघातिक आक्रमणपछि विस्थापित कांग्रेस नेता अधिकारीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गोरखा जिल्लाको ज्ञानज्योति माविका तत्कालीन प्राचार्य यदुप्रसाद अधिकारीको निधन भएको छ ।

अधिकारीको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित निजी निवासमा शनिबार दिउँसो निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ । अधिकारीले क्यान्सर रोगको उपचार गराइरहेका थिए ।

०५२ सालमा तत्कालीन माओवादीको संघातिक आक्रमणबाट गम्भीर घाइते भएका प्रचार्य अधिकारीलाई हेलिकप्टरबाट उद्धार गरि उपचार गरिएको थियो । माओवादीको आक्रमणपछि अधिकारी गाउँबाट बिस्थापित भइ चितवनको भरतपुरमा आएर बसेका थिए ।

अधिकारी कांग्रेसको भ्रातृ संस्था नेपाल शिक्षक संघमा आबद्ध थिए ।

बिक्रम संवत ०१० साल फागुन १५ गते गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ३, लप्सिकोटमा जन्मिएका हुन् ।

शिक्षक सेवाबाट निवृत्त जीवन पश्चात अधिकारी नेपाली कांग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएका थिए ।

स्व.अधिकारीका श्रीमती र तीन छोरा छन् । उनको शनिबार नै देवघाटमा अन्त्यष्टि गरिएको छ ।

स्व.अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले आत्माको चीर शान्तिको कामना गरेको छ । कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको छ ।

Published : Saturday, 2020 June 20, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया