मध्यपुर थिमी नगरपालिका–१ मा ड्रोनबाट कोरोनाविरुद्ध सचेतना

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा ड्रोनमार्फत कोरोना भाइरसबारे सर्वसाधारणमा सचेतना फैलाइएको छ ।

कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश ड्रोनमार्फत दिइएको हो ।

लकडाउनको समयमा पनि अतिआवश्यक काम बाहेक पनि सर्वसाधरण घरबाहिर निस्कने, हिँडडुल गर्ने, तोकिएको समयसीमा बाहेकको समयमा पनि पसलहरू खोल्ने जस्ता क्रियाकलाप भइरहेकोले त्यसलाई रोक्न ड्रोनमार्फत सर्वसाधरणलाई सचेत गराइएको वडाध्यक्ष सुरज खड्काले बताए ।

ड्रोनमार्फत जनचेतना फैलाउँदा स्वयंसेवक र कर्मचारीहरू घरघर तथा टोलटोलमा जान नपर्ने र सुरक्षित पनि हुने भएकोले ड्रनको प्रयोग गरिएको वडाध्यक्ष खड्काले बताए ।

ड्रोन ललितपुरको कुपन्डोलस्थित पोकुरा इनोभेसन्स प्रालिका डा.गोकर्णजङ्ग थापाको नेतृत्वको टोलीले उडाएको थियो ।

दुई दिन ड्रोनबाट कोरोनाविरुद्धको सचेतना अभियान चलाउँदा तीन लाख रुपियाँ खर्च लाग्ने र सबै खर्च पोकुरा इनोभेसन्सले नै व्यहोर्ने वडाध्यक्ष खड्काले बताए ।

Published : Sunday, 2020 May 31, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया