ओली नेतृत्वको कम्युनिस्ट सरकार कहाँ–कहाँ फेल भयो ? कांग्रेसले औँल्यायो गल्तीहरू

काठमाडौं । नेपाली कांग्रेसले लकडाउनका कारण समस्यामा परेकालाई राहत उपलब्ध गराउन माग गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार स्थानीय तहमार्फत पर्याप्त राहत वितरण गर्न माग गरिएको हो ।

‘राहत, क्वारेन्टाइन, उपचार लगायतको कार्यमा नेतृत्व गर्नुपर्ने स्थानीय तहलाई लकडाउन भएको दुई महिना पुग्दासम्म पनि आवश्यक रकम नपठाउनु केन्द्र सरकारको गैह्र जिम्मेवारपूर्ण ब्यवहार हो’, कांग्रेसले भनेको छ, ‘यो बैठक तत्काल रकम निकासा गर्न संघीय सरकार समक्ष माग गर्दछ ।’

‘श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिला लगायतलाई राहतको बिशेष ब्यवस्था गर्न यो बैठक नेपाल सरकार समक्ष पुनः माग गर्दछ’, कांग्रेसले माग गरेको छ ।

‘लकडाउनको कारण विज्ञापन व्यवसायमा परेको असरको सोझो प्रभावमा मिडिया हाउस एवं श्रमजीवी पत्रकारहरू परेका छन्’, कांग्रेसले भनेको छ, ‘अतः कोही एक मात्र पनि पत्रकार या अन्यले रोजगार गुम्न नदिने एवं गुमेकालाई पुर्नस्थापित गर्ने गरी राहत प्रबन्ध गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।’

‘अनुकूल अवस्था छंदा खर्बौं रुपियाँ रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई निरन्तर भरथेग गरेका लाखौं नेपाली कोरोनाको कहरमा अप्ठ्यारोमा परेका बेला तिनलाई उद्दार गर्ने सम्बन्धमा हाम्रो पटक–पटकको आग्रह र दबाबका बावजुद सरकारले उद्दार थालनी नगरेकोमा दुःख व्यक्त गर्दै यो बैठक यथाशीध्र प्राथमिकताका आधारमा उद्दार शुरु गर्न सरकार समक्ष माग गर्दछ’, कांग्रेसले भनेको छ ।

‘विदेशमा खासगरी श्रमिक र विद्यार्थी बढी मारमा परेका छन् भने गर्भवती महिलाहरु अकल्पनिय पीडा भोगिरहेका छन्’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘खाडी मुलुक लगायतका देशमा कयौं देशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन नसक्दा परिवारजनले असिम पीडा भोगिरहेका छन्’, कांग्रेसले भनेको छ, ‘यो बैठक सरकारलाई उच्च मानवीय भावनाले उद्धारको कार्य गर्न आग्रह गर्दछ ।’

‘भारतको विभिन्न शहरबाट सिमानामा आइपुगेका नेपालीलाई ब्यवस्थित प्रवेश गराएर, सुरक्षित क्वारेन्टाइनमा राखेर परीक्षण पश्चात् घर पुग्ने ब्यवस्था गर्न नेपाली कांग्रेसले निरन्तर माग ग¥यो’, कांग्रेसले भनेको छ ।

‘सरकारले गम्भीरतापूर्वक सुनुवाई गरेर अत्यावश्यक तयारी नगर्दा एकातर्फ हजारौं नेपाली बिना परिक्षण आफ्नो घर पुगेका छन् भने अर्कातर्फ अरु पनि हजारौं नेपाली सीमामा अलपत्र छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘यो बैठक यसलाई नागरिकको जीवन माथिको खेलबाडका रूपमा लिंदै अत्यावश्यक ब्यवस्थापन गर्न सरकार समक्ष माग गर्दछ’, कांग्रेसले भनेको छ ।

‘रूकुमको चौरजहारीमा भएको बर्बर एवं सामूहिक हत्याकाण्डको निष्पक्ष अनुसन्धानका लागि सर्वदलीय संसदीय समिति गठन गर्न यो बैठक सरकार समक्ष माग गर्दछ’, कांग्रेसले माग गरेको छ ।

‘कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको भए पनि नयाँ संविधान पछिको नेपालमा पनि अझै विभेदको कारणले यस्ता घटना हुनु दुःखद छ’, कांग्रेसले भनेको छ ।

‘प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीलाई कडा कार्वाही गर्न यो बैठक माग गर्दछ’, कांग्रेसको माग छ ।

‘अघिल्लो महिना बैशाख १८ गते रोल्पाको त्रिवेणी गाविसमा बेवारिसे बमको बिस्फोटबाट ४ अबोध बालबालिकाको निधन भएको घटना बारे हालसम्म अनुसन्धान र दोषीको पहिचान नगरिएकोमा यो बैठक तत्काल गहिरो अनुसन्धान गर्न र दोषीलाई कार्वाही गर्न माग गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले वर्तमान सरकारको प्रचारमुखी चरित्रलाई प्रतिविम्वित गरेको जनाएको छ ।

‘मुलुकको वर्तमान कोरोना संक्रमणसँग जुध्न इच्छाशक्ति, कार्ययोजना र बजेट त्यही रुपमा प्रष्ट देखिएन’, कांग्रेसले भनेको छ, ‘कोरोनाको महामारीबाट विश्व अर्थतन्त्रलाई परिरहेको असर र नेपालको अर्थतन्त्रमा परिरहेको र पर्ने असरबाट निरपेक्ष रहेर सहज स्थितिमै रहेको झैं ढंगले बजेट आएको छ ।’

‘संघीय सरकारको बजेट भएता पनि प्रादेशिक एवं स्थानीय सरकारको विभिन्न कार्य यसमा समावेश गरिएकोे छ’, कांग्रेसले भनेको छ, ‘बजेट विवेकपूर्ण एवं उचित आय स्रोतमा आधारित नभई अत्यधिक रुपमा सार्वजनिक ऋणमा निर्भर रही राष्ट्रिय ऋण निकै बढाउन अग्रसर देखिन्छ ।’

‘सार्वजनिक खर्चका प्रकृति हेर्दा पूँजीगत खर्चको कूल ग्राहस्थ उत्पादनको अनुपातमा अझ घटेको छ, चालु खर्चको अनुपात बढेको छ’, कांग्रेसले भनेको छ ।

‘कोरोनाबाट यसबीचमा नेपालमा जीवन गुमाएका ६ जना सँगै विदेशमा जीवन गुमाउने सबै नेपालीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ’, कांग्रेसले भनेको छ, ‘उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

Published : Sunday, 2020 May 31, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया