कालापानी फिर्ता गर्न भारतसँग ईमान्दारिताका साथ कुटनैतिक पहल गरौँः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले नेपालको अतिक्रमित भू–भाग फिर्ता गर्नका लाग भारतसँग असल कुटनैतिक पहल गर्नुपर्ने बताएका छन् ।

रिपब्लिका दैनिकसँग शुक्रबार कुरा गर्दै थकालीले भारतसँग कुटनैतिक माध्यमद्वारा समस्याको समाधान गर्नतिर लाग्नुपर्ने बताए । ‘सडकबाट गाली गर्नुभन्दा पनि सरकारमा बसेकाहरूले भारतसँग जिम्मेवार रुपमा कुटनैतिक पहल गरेर अतिक्रमित भूमि फिर्ता गर्नुपर्छ’, उनले भने, ‘सत्तामा बसेकाहरूले ईमान्दारिताका साथ भारतसँग कुरा गर्नुपर्छ ।’

कांग्रेसका नेता थकालीले भारत र चीनले लिपुलेकबाट व्यापार नाका खोल्ने सहमति गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुबै देशलाई अब्जेक्सन लेटेर पठाएर विरोध गरेको बताए । ‘सुशील कोइरालाले त्यस बेला बिरोध गर्दै अब्जेक्सन लेटेर पठाउनुभएको थियो’, उनले भने, ‘त्यस बेलाको प्रयास कहाँ पुग्यो ? अहिलेको सरकारले के गर्‍यो ?’

पूर्वमन्त्री थकालीले भारतसँग मात्र नभई अब चीनसँग पनि लिपुलेकको विषयमा कुराकानी गर्नुपर्ने बताए । चीनको ग्रिन सिग्नल पाएर भारतले बाटो बनाएको उनको भनाइ थियो ।

सडकमा राष्ट्रवादको कुरा गर्दैमा भारतद्वारा अतिक्रमित भूमि फिर्ता नहुने उनले बताए । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको प्रमाण सुगौली सन्धीले दिएको छ’, पूर्वमन्त्री थकालीले भने, ‘भारतले सुगौली सन्धीलाई मान्नुपर्छ । होइन भने दुई देशबीच अविश्वास रहिरन्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशसँगको त्यति ठूलो सीमा विवाद समाधान गरेको भन्दै कांग्रेस नेता थकालीले भने, ‘नेपालले ईमान्दारिताका साथ सबै प्रमाण राखेर भारतसँग कुटनैतिक वार्ता गर्ने हो भने नरेन्द्र मोदीले यो विवाद मिलाउन सक्नु हुन्छ ।’

Published : Friday, 2020 May 15, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया