कांग्रेसका खतिवडाले भने, ‘लकडाउनमा बसेका ओलीलाई सीमा मिचिएको कुरा कसरी थाहा होस् ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले मुलुकको सिमाना मिचेर भारतले सडक बनाउँदासम्म चाल नपाएको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले आइतबार ट्वीट गर्दै लकडाउनका कारण बालुवाटारभित्र बसेका प्रधानमन्त्रीलाई लिपुलेकमा सडक बनेको कुरा थाहा हुने कुरै भनेर ब्याङ्ग्यात्मक आलोचना गरेका छन् ।

‘हाम्रो प्रधानमन्त्रीलाई कालापानी, लिपुलेकमा सडक पुगेको कसरी थाहा हुन्छ ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘लकडाउनमा बालुवाटार बसेको मान्छे । बरु पत्रकारले कसरी थाहा पाए ? सिडियो र पुलिसले थाहै नपाएको कुरा ?’

‘अब प्रधानमन्त्रीको प्रश्न भारत र चीनसंग होइन पत्रकारलाई हुनेछ’, खतिवडाले प्रश्न गरेका छन्, ‘नक्सा छापेर हुन्छ ? धन्य राष्ट्रवादी ओली ?’

यसैबीच, कांग्रेस नेता खतिवडाले चीनको मास्क लगाएका कारण प्रधानमन्त्री ओलीले देशको कुनै पनि समस्या देख्न छाडेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीजीले चीनको मास्क लगाउनुभएको छ । उहाँले कसरी देख्नु हुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘देशको सिमाना मिचिएको छ । भारत र चीन मिलेका छन् । उहाँले कुटनीतिक पहल गरेर सिमानाको समस्या समाधान गर्न सक्नुभएन ।’

खतिवडाले कम्युनिस्ट सरकारको राष्ट्रवादी छवि प्रष्ट रुपमा देखिएको बताएका छन् । उनले छिटोभन्दा छिटो भारत र चीनसँग कुटनीतिक पहल गरी मिचिएको भू–भाग फिर्ता गराउन माग गरे ।

Published : Sunday, 2020 May 10, 8:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया