टिचिङका डा.ज्ञवालीलाई नियम विपरित निर्देशकमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको गत महिना दोश्रो पटक गरिएको मिर्गौला प्रत्यारोपणमा संलग्न प्रत्यारोपण सर्जन डा.प्रेम ज्ञवालीलाई स्वास्थ्य सेवा ऐनको भावना बिपरित भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा.ज्ञवालीलाई चार वर्षका लागि केन्द्रको निर्देशक नियुक्त गरेको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत सञ्चालित सरकारी केन्द्रीय अस्पताल हो ।

यहाँ स्वास्थ्य सेवा अन्तरगतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको चिकित्सक मात्र निर्देशक बन्ने प्रष्ट नियम बिपरित प्रधानमन्त्री ओली र उनकी निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा.दीव्यासिंहको दवावमा शिक्षा मन्त्रालय मातहतको त्रिवि चिकित्सासास्त्र अध्ययय संस्थान त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागमा कार्यरत डा. ज्ञवालीलाई केन्द्रको निर्देशक नियुक्त गरिएको स्रोतको दावी छ ।

मानव अंग प्रत्यारोपण विकास समितिको गठन आदेश २०६९ को नियम ६ को उपनियम २ अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक हुन् । नेपाल सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सकहरूमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति हुने व्यवस्था छ ।

तर, गठन आदेशको नियम विपरित स्वास्थ्य सेवाको चिकित्सक निर्देशक हुनु पर्ने केन्द्रमा शिक्षा मन्त्रालय मातहतको शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशक बनाउनु नियमको ठाडो उल्लंघन भएको पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले भने, ‘स्वास्थ्य मन्त्रालय मातहत सञ्चालित केन्द्रीय अस्पतालमा शिक्षा मन्त्रालय मातहत सञ्चालित शिक्षण अस्पतालको चिकित्सक ल्याउनु स्वास्थ्य सेवा ऐन र त्यसको स्पिरिटका आधारमा बनाइएको गठन आदेशको विरुद्घ हो । यसो गर्न पाइँदैन ।’

शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई मनपरि तरिकाले स्वास्थ्य मन्त्रालय मातहतको सरकारी केन्द्रीय अस्पतालको निर्देशक बनाएको यो पहिलो घटना भएकोले तत्काल खारेज गर्नु पर्ने डा.मिश्र बताउँछन् ।

व्यक्तिका लागि कानून परिवर्तन गर्नु अर्को अपराध भएको बताउँदै डा. मिश्रले भने, ‘शिक्षा मन्त्रालय मातहतको कर्मचारीलाई स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालको निर्देशक बनाएपछि उसले गरेका अनियमितता सम्बन्धी कामको विभागिय कारवाही शिक्षाले गर्छ की स्वास्थ्यले ।’

वीर अस्पताल वा केन्द्रकै वरिष्ठ चिकित्सकमध्ये निर्देशक बनाउनु पर्दथ्यो तर, नियम मिचेर शिक्षण अस्पतालको चिकित्सकलाई स्वास्थ्य मन्त्रालय मातहतको सरकारी अस्पतालको निर्देशक बनाउनुले स्वास्थ्य सेवामा कार्यरत चिकित्सकको मनोबल खस्केको नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय मातहतको अस्पतालमा स्वास्थ्यकै चिकित्सक निर्देशक हुनु पर्छ ।’

अस्पतालको निर्देशक कुनै राजनीतिक नियुक्ती नभएकाले कुनै व्यक्ति बिशेषका लागि रातारात कानून परिवर्तन गर्नु उपयुक्त र कानूनसम्मत नभएको महासचिव रिजालले बताए ।

वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह जस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पनि स्वास्थ्य मन्त्रालय मातहत संचालित केन्द्रीय अस्पताल हो । मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक बन्न वीर अस्पतालमा योग्य चिकित्सक हुँदाहुँदै पनि डा.दीव्या सिंहको प्रभावमा परेर स्वास्थ्यमन्त्री ढकालले नियम बिपरित निर्णय गराएको स्रोतको दावी छ ।

केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत हप्ता सकिएपछि सरकारले नयाँ निर्देशक बनाएको हो । मिर्गौला, कलेजो, मुटु लगायतका मानव अंग प्रत्यारोपण गर्ने उद्देश्यका साथ सरकारले बिक्रम संवत २०६९ मा भक्तपुरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गरेको थियो । २०७० देखि मिर्गौला प्रत्यारोपण शुरु गरेको यो केन्द्रले अहिलेसम्म ६७५ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।

नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेर आफूलाई अब्बल अस्पतालको रुपमा केन्द्रले उभ्याएको छ । प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालित यो केद्रमा सयौं व्यक्तिले निशुल्क डायलासिस सेवा पाइहेका छन् ।

नेपालमा पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला जिवित व्यक्तिमा प्रत्यारोपण गरेर यो कार्यक्रमलाई अगाडि बढाइरहेको केन्द्रमा यसरी नियम बिपरित निर्देशक नियुक्त गरिएपछि यसको भविश्यमाथि नै संकट पैदा हुने त होइन भन्ने शंका व्यक्त गरिएको छ ।

बेलायत, अमेरिका, भारत, दक्षिण कोरीया लगायतका देशमा ख्यातिप्राप्त अंग प्रत्यारोपण सर्जन समेत रहेका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको मेहनत, क्षमता र लगनसिलताका कारण छोटो समयमै केन्द्रले प्रत्यारोपणका क्षेत्रमा छुट्टै पहिचान बनाएको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दीव्या सिंहले स्वास्थ्य मन्त्रीलाई छायाँमा पारेर काम गर्ने गरेको मन्त्रालयका अधिकारी बताउँछन् । प्रधानमन्त्री ओली नै डा.दीव्या सिंहको कुरा काट्न नसक्ने र उनलाई जे गर्न पनि छुट दिने गरेकाले समस्या पैदा गरेको स्रोत बताउछ । राष्ट्रपतिबाट चिकित्सकहरूलाई प्रदान गरिने बिभुषण र पदकमा पनि डा.दीव्या सिंह पूरै हावी भएकी थिइन् ।

उनले आफूलाई मा परेका त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूलाई मात्र पदकका लागि शिफारिस गरेर पदक दिलाएपछि स्वास्थ्य मन्त्रालय मातहत कार्यरत चिकित्सकले विरोध जनाएका थिए ।

डा.दीव्या सिंह पनि मिर्गौला रोग विशेषज्ञ भएकाले डा. पुकारले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा गरेको कामबाट उनी चिडिएकी छन् ।

त्रिवि शिक्षण अस्पतालको हाराहारीमै डा. पुकारको टीमले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारापण र कलेजो प्रत्यारोपण गरेर देखाइदिएपछि डा.दीव्या सिंह जसरी पनि डा. पुकारलाई पाखा लगाउन चाहन्थिन् । यसका लागि उनलाई अहिले सहि अवसर मिल्यो र आफू मातहतका सर्जन डा.ज्ञवालीलाई केन्द्रको निर्देशक बनाउन स्वास्थ्य मन्त्री ढकाललाई दवाब दिइन ।

डा. दीव्या सिंह त्रिवि शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ भए पनि उनी निजी अस्पताल ग्राण्डीमा काम गर्छिन । तर यो गैरकानूनी नियुक्तिबिरुद्घ वीरका केही चिकित्सक अदालत जाने तयारी गरेका छन् । डा. ज्ञवालीको नियुक्तविरुद्घ सरकारी चिकित्सक संघले पनि बिरोध गरेको छ ।

Published : Saturday, 2020 May 9, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया