लिपुलेक हाम्रो हो, भारत र चीनसँग कूटनीतिकमार्फत फिर्ता गराऔँ: कांग्रेस नेतृ डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भारतले नेपाली भूमि कब्जा गरेर सडक बनाएको घटनाको विरोध गरेकी छिन् ।

कांग्रेस नेतृ डा.संग्रौलाले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतको हर्कतको विरोध गरेकी हुन् । ‘आफ्नो राजनीतिक नक्सामा नेपालको भूमि अतिक्रमण गरी कालापानी क्षेत्र समावेश गरेको झण्डै ६ महिनापछि सडक निर्माण गरेको छ’, उनले भनेकी छिन् ।

‘नेपाली भूभाग व्यास, गुन्जी लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेर भारतले नेपालसँगका सन्धिसम्झौताको गम्भीर उल्लंघन गरेको छ’, उनले भनेकी छिन्, ‘दुई देशको मित्रवत सम्बन्धमाथि प्रहार गर्ने कार्य भारतीय पक्षबाट भएको छ ।’

‘तथ्य र प्रमाणहरूका अनुसार २०७२ सालमा नेपालमा महाभूकम्प गएका बेला चीन र भारतले लिपुलेक पास हुँदै व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए’, उनले भनेकी छिन् ।

‘अहिले विश्वव्यापी महामारी र संकटका बेला भारतले सडकमार्ग निर्माण र उद्घाटन गरेको छ । भारतीय पक्षको यो कार्य निन्दनीय छ’, उनले भनेकी छिन्, ‘तत्काल नेपालीभूमि फिर्ता गर्नुपर्छ । यसको विकल्प भारतीय पक्षसँग छैन ।’

‘व्यास, गुन्जी र लिपुलेक नेपाली भूमि हो । यसका ऐतिहासिक प्रमाणहरू छन्’, कांग्रेस नेतृ डा.संग्रौलाले भनिन्, ‘सरकारले कूटनीतिक संवादमार्फत उक्त जमीन फिर्ता गराउन पहल थाल्नुपर्छ ।’

‘लिपुलेक हाम्रो हो, भारत र चीनसँग कूटनीतिक संवादमार्फत फिर्ता गराऔँ’, उनले भनेकी छिन्, ‘राष्ट्रवादी छवि बनाएर मागेको भोटको सम्मान गर्दै तत्काल उच्चस्तरीय वार्ता टोली निर्माण गरी संवाद थाल्न सरकारसँग आग्रह गर्दछु ।’

‘भारत र चीन हाम्रा असल छिमेकी हुन्’, उनले भनेकी छिन्, ‘आधार र प्रमाणहरूका माध्यमबाट नेपाली भूमि फिर्ताको पहल तत्काल थाल्न म प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई ध्यानाकर्षणसहितको आग्रह गर्दछु ।’

Published : Saturday, 2020 May 9, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया