महर्जनको अभियानमा साथ दिन आइपुगे कांग्रेसका नेताद्वय राणा र घिमिरे

लगनखेल । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा र ललितपुर कांग्रेसका नेता ऋषिराम घिमिरेले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणका लागि निःशुल्क खाना खुवाउन आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेस खेलकुद विभागका सदस्य सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले ललितपुरको लगनखेल डोजोमा एक महिनाभन्दा धेरै समयदेखि मागेर गुजारा गर्ने तथा मजदुरी गरेर खानेहरूलाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।

उनको यो अभियानलाई साथ दिँदै कांग्रेसका नेताद्वय राणा र घिमिरेले शनिबार आर्थिक सहयोग गरेका हुन् । उनीहरूले पाँच दिनका लागि आवश्यक पर्ने साँझ र बिहानको खानामा लाग्ने खर्च उपलब्ध गराएको कांग्रेसका युवा नेता महर्जनले बताए ।

करातेका अन्तर्राष्ट्रिय खेलाडी तथा लगनखेल डोजोका संरक्षक लकडाउनबाट समस्यामा परेकाहरूलाई खाना खुवाउँदै आएका छन् । महर्जनले लकडाउन अवधिभरि खाना खुवाउने जनाएका छन् । उनले बेलाबेला उनीहरूलाई मासुको समेत व्यवस्था गर्ने गरेका छन् ।

शुरुमा आफ्नै बलबुताले निःशुल्क खाना खुवानउ थालेका कांग्रेसका युवा नेता महर्जनलाई त्यसपछि क्रमशः सहयोग जुटेको थियो ।

कांग्रेसको तर्फबाट ललितपुरको क्षेत्र नम्बर २ मा राणा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । सोही निर्वाचन क्षेत्रतर्फ प्रदेश सभामा महर्जन र घिमिरे उम्मेदवार बनेका थिए । ललितपुर कांग्रेसमा राणा, महर्जन र घिमिरे खम्बाका रुपमा चिनिन्छन् ।

महर्जनको अभियानमा कराते प्रशिक्षक ध्रुब खनाल, लगनखेल डोजो प्रमुख प्रशिक्षक एवम् किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जन, इन्जिनियर शैलेश श्रेष्ठ, नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष मथुरा शर्मा, उपाध्यक्ष उद्धब दाहाल, सचिव दीपक घिमिरे, नेपाल तरुण दलका क्षेत्रीय सदस्य सरोज कायस्थ, तरुण दलका सह–सचिव रामकृष्ण घिमिरे, जिल्ला सदस्य द्वारिका श्रेष्ठ लगायतले प्रत्यक्ष रुपमा दैनिक खाना पकाएर खुवाउने कार्यमा सहयोग गर्दै आएका छन् ।

भूकम्प होस् वा लकडाउनबाट समस्या या ललितपुरमा कसैलाई समस्या पर्दा कांग्रेसका युवा नेता महर्जन सहयोगका लागि अगाडि सर्ने गरेको बागमती गाउँपालिका प्रवक्ता समेत रहेका कांग्रेस बागमती गाउँपालिका सभापति विष्णु तिमल्सिनाले बताएका छन् ।

लगनखेल डोजोमा महर्जनले दैनिक ९० देखि १ सय जनासम्मलाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।

Published : Saturday, 2020 May 9, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया