देशको सीमा जोगाउन कम्युनिस्ट सरकार असफल भयोः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप देशका नागरिकहरूलाई स्वीकार्य नहुने जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर देशमाथि यस प्रकारका गतिविधि जहिले–जहिले हुन्छन हरेक पटक नेपाल तरुण दलले सरकारलाई सुसूचित र ध्यानाकर्षण गराउँदै आएको बताएका छन् ।

‘भारतले गत शुक्रबार नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले हामी नेपाली नागरिकको आत्मामा गहिरो चोट पुर्‍याएको छ’, बस्नेतले भनेका छन् ।

‘यसरी हाम्रो भूमिमाथिको हस्तक्षेपको नेपाल तरुण दल घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भएिनको छ, ‘कुनै पनि मुलुकको सीमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो ।’

‘विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदाङ्गो भएको छ’, तरुण अध्यक्ष बस्नेतले भनेका छन् ।

‘सरकारको यस्तो प्रकारको लाचार शैलीप्रति खेद प्रकट गर्दै देशको सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चालेर नेपाली भूमिको रक्षा गर्नका लागि नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा अध्यक्ष बस्नेतले भनेका छन् ।

बस्नेतले कम्युनिस्ट सरकारले देशको सीमा रक्षा गर्नुको साटो सत्ता लिप्सामा लागेको बताएका छन् । उनले कम्युनिस्ट सरकारबाट देशको सीमा रक्षा नहुने पनि जनाएका छन् ।

Published : Saturday, 2020 May 9, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया