पोखरामा नेकपाका सांसदले देखाए सत्ताको पावर, गरे दलितहरूको अपमान

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले जातीय छुवाछुत गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ चण्डीटोलका सम्मरबहादुर सुनारको दुबईमा मृत्यु भएपछि आफन्तहरू किरिया बस्नका लागि चण्डीटोलको किरियापुत्री भवन माग गरेका थिए ।

पोखरा महानगर, वडा कार्यालय, स्थानीयलगायतको लगानीमा सार्वजनिक जग्गामा किरिापुत्री भवन बनेको छ ।

चैत २६ गते मोहन सुनारले किरियापुत्री भवनमा किरिया बस्नका लागि चाबी मागे पनि नेकपाका नेताहरूले उनलाई चाबी दिएनन् ।

स्थानीय जनक थापाले वैशाख १४ गते घर अगाडि बाटोमा आएर मोहन सुनारले चलाएको मोटरसाइकल रोकेर गाली गरेका थिए ।

कथित ठूलो जातका जनक थापाले गाली गरेपछि मोहन सुनारले वैशाख १८ गते जातीय छुवाछुत र भेदभाव कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

प्रहरीले किटानी जाहेरी परेपछि जातीय छुवाछुत गर्ने कथित उपल्लो जातका व्यक्तिहरूलाई जिल्ला अदालत कास्को आदेश लिएर पक्राउ पुर्जी जारी गरिसकेको थियो ।

किटानी जाहेरीका आधारमा वैशाख २३ गते नेकपाका नेताहरू समेत रहेका रामबहादुर जिसी र जनक थापालाई प्रहरीले पक्राउ गरेका छ ।

मोहन सुनारले उजुरीमा अर्को व्यक्ति देवबहादुर थापा समेत गरी ३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । देवबहादुर थापा भने पक्राउ परेका छैनन् । उनको उमेर बढी भएकाले पक्राउ नगरेको बताइएको छ ।

घटनापश्चात बुधबार नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सभा सांसद कृष्ण थापाले विज्ञप्ति निकालेर दलित आन्दोलनलाई उच्छृंखल तत्वको संज्ञा दिएका छन् ।

‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु’, नेकपाका प्रदेश सांसद थापाले भनेका छन् ।

पोखरा महानगरका पूर्वमेयरसमेत रहेका थापाले विज्ञप्तिमा छुवाछुतको आरोपमा पक्राउ परेकालाई षडयन्त्रपूर्वक पक्राउ गरेकोसमेत भनेका छन् ।

‘प्रहरी प्रशासनले गरेको ज्यादति तुरून्त रोक्न, नेपालको संविधानअनुसार सबै समुदायलाई सामाजिक न्याय प्रदान गर्न सम्बन्धित निकाय तथा सरकारसँग माग गर्दछु’, नेकपाका प्रदेश सांसद थापाले भने ।

‘षडयन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं. १६ का सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई बिनासर्त रिहाइको माग गर्दछु’, उनले भनेका छन् ।

मोहन सुनारले छुवाछुतको आरोपमा किटानीसहित जाहेरी दिएका रामबहादुर जिसी नेकपा वडा नं. १६ का वडा सचिवालय सदस्य हुन् ।

पक्राउ नपरेका तर किटानी जाहेरीमा परेका देवबहादुर थापा पोखरा महानगर सदस्यमा एमालेबाट निर्वाचित पूर्व सदस्य हुन् ।

जनक थापा भने नेकपाका सामान्य कार्यकर्ता मात्र रहेको नेकपाले जनाएको छ । उजुरीकर्ता मोहन सुनार पनि नेकपाकै जिल्ला सदस्य हुन् । उनी पूर्वएमालेमै जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

उनकाविरूद्ध विज्ञप्ति जारी गर्ने जिल्ला अध्यक्ष कृष्ण थापा तत्कालीन एमालेकै जिल्ला अध्यक्ष थिए । कृष्ण थापा अहिले पनि नेकपा कास्कीका पनि अध्यक्ष नै छन् ।

छुवाछुतजस्तो गम्भीर मुद्दा पार्टी नीति विपरित विज्ञप्ति निकालेर छुवाछुतको पक्षमा उभिएको भन्दै नेकपाका अन्य जिल्ला नेताहरू रिसाएका छन् ।

नेकपा कास्कीका केही नेताहरूले अध्यक्ष थापाको विज्ञप्ति पार्टीको विधान र मुलुकको संविधानविपरित भएको भन्दै आफैं जातिवादी भएको बताएका छन् ।

नेकपाका दलित अगुवाहरूले विज्ञप्तिप्रति आन्तरिक छलफल गरेको भन्दै जिल्लाभन्दा उपल्लो निकायलाई जानकारी गराउने बताएका छन् ।

पीडित मोहन सुनारलाई नेकपाका नेताहरूले दवाव दिएर उजुरी फिर्ता लिन भनेका छन् । जति नै दवाव आए पनि उजुरी फिर्ता नलिने उनले बताएका छन् ।

Published : Friday, 2020 May 8, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया