सेनाका कर्नेलले चलाएको कार र मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं । काठमाडौंमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर राणा जबरा सवार गाडीले ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे सात बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवक टीकाराज गेलालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कलंकीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल राणा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गइरहेको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्‍याइएको थियो ।

गेलालको उपचारको क्रममा मृत्यु भएको छ । घटनाबारे बाँकी अनुसन्धान हुँदैछ ।

टंकेश्वर बस्ने मोटरसाइकल चालक गेलाल कुखुराको मासु विक्री वितरणको काम गर्दै आएका थिए ।

दुर्घटना भएको कारलाई कर्नेल राणाले नै चलाएका थिए । उनलाई प्रहरीले लिएको छ ।

Published : Friday, 2020 May 8, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया