कोरोना परीक्षणमा ढिलाइ भयो, टिम बनाएर वडाबाटै काम गरौँः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् आमन्त्रित केन्द्रीय अभिशेषप्रताप शाहले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि परीक्षणको दायरालाई फराकिलो बनाउन सरकारसँग अपील गरेका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका कांग्रेस नेता शाहले लकडाउन मात्रै गरेर केही नहुने बताए । उनले लकडाउनका बेला सबै पौने तीन करोड नागरिकहरूको रैपिड कोरोना टेस्ट गर्नुपर्ने माग गरेका हुन् ।

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि चुनौती थपिएको भन्दै उनले भने, ‘अहिलेको तरिका अत्यन्तै ढिलासुस्ती भयो । अब टिम बनाएर सबै गाउँपालिका, नगरपालिका र वडास्तरबाटै कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ ।’

कांग्रेस नेता शाहले नेपाल–भारतको बोर्डरलाई पनि उच्च निगरानीमा राख्न र सुरक्षाकर्मीहरू बाक्लै रुपमा परिचालन गर्न माग गरेका छन् ।

‘नेपाल–भारतको खुला सिमानाका कारण दुबैतिरबाट दुबै देशमा प्रवेश गर्न खोज्नेहरू छन्’, उनले भने, ‘सिमानामा उच्च सुरक्षासतर्कता अपनाउनुपर्छ । नेपाल प्रवेश गरिहालेका कोही छन् भने उनीहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिहाल्नुपर्छ ।’

अहिलेको अवस्थामा सबै नगारिकहरू उच्च सर्तकतामा रहेको र कांग्रेसले पनि सरकारलाई सबै प्रकारको सहयोग गरिरहेको भन्दै नेता शाहले ढिलाइ नगरी परीक्षणको दायरा बढाउन माग गरे ।

उनले अहिलेकै तरिकाले अगाडि बढ्ने हो भने तीन–चार वर्षमा पनि कोरोनाको परीक्षण हुन नसक्ने बताए । कांग्रेस नेता शाहले गणस्तरीय स्वास्थ्य सामग्री खरिद गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले कमिशन वा भ्रष्टाचारका लोभमा नलागेर जनताको जीवन रक्षाका लागि सरकारको नेतृत्व गरिरहेकाहरू लाग्नुपर्ने बताएका छन् ।

उनले लकडाउनका कारण समस्यामा परेका जनताको मागको सुनुवाइ गर्नुपर्ने दायित्वमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोनाभाइरसको संक्रमणका शुवाती लक्षण देखिन छाडेको भन्दै अबको बिकल्प सबै नागरिकहरूको परीक्षण मात्रै रहेको शाहले बताएका छन् ।

Published : Monday, 2020 May 4, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया