महर्जनको निःशुल्क खाना खुवाउने अभियानमा मकाउबाट आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको अभियानमा साथ दिन मकाउमा रहेका नेपाली पूर्वखेलाडीहरूले आर्थिक सहयोग गरेका छन् ।

कराते पूर्व राष्ट्रिय खेलाडी लोकमान सिंहका अनुसार लगनखेल डोजोका संथापक समेत रहेका महर्जनको अभियानलाई साथ दिन ४२ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

महर्जनले लकडाउनका कारण समस्यामा परेका लगनखेलमा मागेर गुजारा गर्ने तथा समस्यामा परेका मजदुरहरूलाई विगत ३ हप्तादेखि निरन्तर रुपमा खाना खुवाउँदै आएका छन् ।

महर्जनले लगनखेल डोजोमा दैनिक रुपमा साँझ र बिहान ३०–४० जनालाई निःशुल्क खाना खुवाउँदै आएका हुन् ।

लकडाउनको अवधिभरि ती व्यक्तिहरूलाई खाना खुवाउने महर्जनले बताएका छन् ।

लगनखेलको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिर वरिपरि मगेर गुजारा चलाउने तथा मजदुरी गर्ने ती व्यक्तिहरूलाई महर्जनले निःशुल्क खाना खुवाएको थाहा पाएपछि मकाउमा बस्ने नेपालीहरूले रकम संकलन गरेर पठाएका हुन् ।

करातेका पूर्व राष्ट्रिय खेलाडी लोकमान सिंह, निरञ्जनबिक्रम भण्डारी, निराजनबिक्रम भण्डारीले उक्त अभियानमा हातेमालो गर्दै रु.४२ हजार रुपियाँ सहयोग गरेका हुन् । यी सबै महर्जनका करातेका चेलाहरू हुन् ।

महर्जनको अभियानलाई सह्रनीय लागेर टेवा पुगोस् भनेर साथीभाइहरू मिलेर सहयोग गरेको कराते पूर्वराष्ट्रिय खेलाडी सिंहले बताएका छन् ।

०७२ सालको भूकम्पका बेला पनि महर्जनले ललितपुरले दक्षिण भेग सहयोग गरेका थिए । त्यस बेला पनि मकाउनमा बस्दै आएका लोकमान सिंह, निरञ्जनबिक्रम भण्डारी र निराजनबिक्रम भण्डारीको समूहले महर्जनलाई रु.७५ हजारको सहयोग गरेका थिए ।

परिषदका पूर्वकोषाध्यक्ष महर्जनका थुप्रै करातेका चेलाहरू विदेशमा बस्दै आएका छन् । देशमा संकट र समस्या परेका बेला उनीहरूले महर्जनमार्फत सहयोग गर्ने गरेका छन् ।

Published : Monday, 2020 May 4, 4:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया