यी हुन् नेपाली सेनाका भावी प्रधानसेनापति

काठमाडौं । नेपाली सेनाका उपरथी प्रभुराम शर्मालाई सरकारले रथीमा बढुवा गरेको छ । शर्माले आइतबारदेखि बलाध्यक्ष विभागको कार्यभार सम्हालेका छन् ।
रथी गौरव तण्डुलको पदावधि सकिएपछि शर्माको पदोन्नति भएको हो ।

शर्माले प्रधानसेनापति पूर्णचन्द्र थापाबाट दर्ज्यानी चिह्न लगाएका छन् । अहिलेको वरीयताक्रम र सेनाको कार्यप्रणालीअनुसार शर्मा भावी प्रधानसेनापति हुनेछन् ।

आकस्मिक फेरबदल नआएमा २०७८ भदौ अन्तिम साता प्रधानसेनापति थापाको पदावधि सकिएपछि शर्माले सेनाको नेतृत्व गर्नेछन् ।

असारमा अहिलेका बलाधिकृत रथी शरद गिरीको पदावधि सकिएपछि शर्मा बलाधिकृत रथी हुनेछन् ।

त्यसवेला अहिलेका उपरथी ईश्वर हमाल वरीयताक्रममा माथि रहेका कारण जर्नेल (रथी)मा बढुवा भएर बलाध्यक्ष हुनेछन् ।

बलाधिकृत रथी प्रधानसेनापतिपछिको वरीयताक्रम हो  । शर्मालाई १४ वैशाखमा मन्त्रिपरिषदले रथी पदमा बढुवा गरी बलाध्यक्ष रथीको जिम्मेवारी दिएको थियो ।

सेनाका दुई सहायक रथी आनन्दकुमार अधिकारी र सञ्जय थापा उपरथीमा बढुवा भएका छन् ।

अधिकारीलाई उपत्यका पृतनाका पृतनापति तथा थापालाई मध्यपश्चिम पृतनाका पृतनापति तोकिएको छ  ।

Published : Monday, 2020 May 4, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया