कोरोनाभाइरसबाट सांसदहरूलाई बचाउन र बैठक चलाउनेबारे सभामुखद्वारा परामर्श

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बजेट अधिवेशनको तयारी स्वरुप संसद सचिवालयका कर्मचारी र चिकित्सकहरूसँग परामर्श गरेका छन् ।

आइतबार सापकोटाले संघीय संसदको बैठकमा कोरोनाभाइरसको संक्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने विषयमा उनले छलफल चलाएका हुन् ।

सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरूसंग संसद बैठक व्यबस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेका हुन् ।

सभामुख सापकोटाले संघीय संसदका तर्फबाट सकिने जति सबै पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

संघीय संसद सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद भवनमा यहि वैशाख १८ गते गरेको स्थलगत अनुगमका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरूको बसाइँ व्यबस्थापन गरिरहेको छ ।

यहि वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले संघीय संसद भवनको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरूको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन, सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यबस्था मिलाउन सुझाव दिएको थियो ।

सांसदका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माईक एकजना सांसदले बोलेपछि स्यानिटाईज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यबस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको सेन्ट्रल एसी नचलाउने लगायतका सुझाव दिएको छ ।

Published : Sunday, 2020 May 3, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया