यो हो कम्युनिस्टहरूको चर्तिकला, सत्ताको चरम दुरुपयोग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले लकडाउनको उल्लंघन गरेर काठमाडौंमा नारावाजी गरेका छन् ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालय नजिकै नेकपा निकटका अनेरास्ववियु र युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूले नारावाजी गरेका हुन् । उनीहरूले जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईसहितका नेताहरूविरुद्ध नारावाजी गरेका थिए ।

नेकपाका युवा र विद्यार्थीले जसपाका नेताहरूलाई अबरोध गर्ने प्रयास गरेका थिए ।

जसपाका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठसहितका नेताहरू सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

नेकपाका युवा र विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरू जसपाका नेता डा.भट्टराईको बिरोधमा चर्का नारावाजी गरेका थिए ।

उनीहरूले प्रहरी घेरालाई तोड्दै जसपाका नेता कार्यकर्ताबिरुद्ध जाइलाग्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लकडाउनका बेला नेकपाका युवा र विद्यार्थी संगठनलाई पास कसले दियो भनेर प्रश्न पनि उठेको छ । युवा र विद्यार्थीले सयौँ कार्यकर्ता सडकमा उतारेर नारावाजी गरेका थिए ।

कम्युनिस्ट सरकारले सर्वसाधारणलाई लकडाउनमा कडाइ गरेको छ । प्रहरीले सर्वसाधारणलाई सडकमा देख्नेवित्तिकै लठ्ठी हान्छ । तर, मंगलबार नेकपाका कार्यकर्तालाई केही पनि गरिएको थिएन । खुला छाडिएको थियो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना सांसद डा.सुरेन्द्र यादवको अपहरण गरेको अभियोगमा जसपाका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका थिए ।

जसपाका नेताहरूलाई रोक्न अनेरास्ववियुका ऐन महर र युवा संघका नेता रमेश पौडेलको नेतृत्वमा नेकपाले संगठित रुपमा अवरोधको प्रयास गरेका छन् ।

सरकारी वकिलको कार्यालयले जसपाका नेताहरूको अपहरणको मुद्धा लिन अस्वीकार गरेको छ ।

युवा र अनेरास्ववियुका नेताहरूले डा.भट्टराईबिरुद्ध साईबर क्राइमको मुद्धा दिन आएको उनीहरूले बताएका छन् ।

Published : Tuesday, 2020 April 28, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया