उदयपुर घटनालाई लिएर कांग्रेस गम्भीर, छिटो काम गर्न स्वास्थ्य मन्त्रीसँग खाँणको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उदयपुर जिल्लामा कोराना भाइरसको संक्रमण बढ्दै गइरहेको भन्दै रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग आग्रह गरेका छन् ।

बिहीबार प्रमुख सचेतक खाणले स्वास्थ्यमन्त्री ढकाललाई फोन गरेर उदयपुर जिल्लामा सरकारद्वारा हालसम्म गरिएका कोरोना भाइरस रोग नियन्त्रण, परीक्षण तथा उपचारबारे जिज्ञासा राखेका थिए ।

खाँणले उदयपुर जिल्लामा उच्च सतर्कता अपनाई केन्द्रीयस्तरको विशेषज्ञ उपचार एवं परीक्षण टोली परिचालन गर्न स्वास्थ्य मन्त्रीसँग आग्रह गरेका छन् ।

कोरोना भाईरसको परीक्षण गर्ने पीसीआर मेशिन जडान तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने खाँणले स्वास्थ्यमन्त्री ढकालसँग आग्रह गरेको जारी प्रेस नोटमा उल्लेख छ ।

स्वास्थ्य मन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई पीसीआर मेशिन जडानबारे शीघ्र आवश्यक व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले पनि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग भेट गरी उयदपुर जिल्लामा व्यापक रुपमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गरेकी छिन् ।

उदयपुरबाट परीक्षण ल्याब टाढा रहेकाले परीक्षण कार्यमा ढिलाइ हुने भन्दै परियारले जिल्लामा नै परीक्षण ल्याब स्थापना गर्नुपर्ने माग गरेकी छिन् ।

परीक्षण कीटको अभाव भएको हुँदा तत्काल उपलब्ध गराउन कांग्रेस सांसद परियारले राज्यमन्त्री रावतको ध्यानाकर्षण गराइन् ।

सांसद परियारले स्वास्थ्यसचिव यादवप्रसाद कोइरालालाई समेत भेट गरी उदयपुर जिल्लालाई उच्च प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेकी छिन् ।

Published : Thursday, 2020 April 23, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया