नवलपरासीमा कांग्रेसद्वारा पुनः प्रयोग गर्न मिल्ने पीपीई वितरण

परासी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले ७ वटा स्थानीय तहलाई निःशुल्क पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

कांग्रेसका नेता एवम् त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासीका पूर्वस्ववियू इकाई सभापति चन्द्रकान्त खनालको सहयोगमा कांग्रेसले करीव २ लाख ५० हजार मूल्य बराबरको एक सय थान पीपीई स्थानीय तहरूलाई उपलब्ध गराएको कांग्रेस नेता एवम् पूर्वसांसद बिक्रम खनालले जानकारी दिए ।

कांग्रेसका कार्यबहाक सभापति अर्जुनकुमार पोखरेलको नेतृत्वमा पीपीई हस्तान्तरण गरिएको हो ।

पीपीई हस्तान्तरण कार्यक्रममा पूर्वसांसदद्वय देवकरण कलवार, बिक्रम खनाललगायतको उपस्थिति रहेको थियो ।

भारतीय सीमासँग जोडिएको पश्चिम नवलपरासी जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

नवलपरासीमा पीपीई अपुग रहेको जानकारी आएपछि स्थानीय तहमार्फत स्वास्थ्य सामग्री उपलब्ध गराइएको कार्यबहाक सभापति पोखरेलले बताए ।

उपलब्ध गराइएका पीपीईमा सुनवल नगरपालिकालाई २० थान दिइएको छ ।

रामग्राम र बर्दघाट नगरपालिकालाई १५–१५ थान पीपीई दिइएको छ । प्रतापपुर, सुस्ता, पाल्हीनन्दन र सरावल गाउँपालिकालाई १०–१० थान पीपीई दिइएको छ ।

एम्बुलेन्स चालकका लागि ५ थान र आवश्यक परेका बेला उपलब्ध गराउन भन्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालमार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ थान पीपीई उपलब्ध गराइएको कांग्रेस नेता खनालले जानकारी दिए ।

उपलब्ध गराइएको पीपीई डबल कभरसहित एयर टाईट र वाटर पु्रफ रहेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होलाले बताए ।

‘यो पीपीई धोएर पुन लगाउन मिल्नुका साथै सेनिटाईजर गरेपछि आइसोलेसन कक्षमा पनि प्रयोग गर्ने खालको छ’, डा.होलाले भनेका छन् ।

Published : Monday, 2020 April 13, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया