नमाज मस्जिदमा होइन घरमै पढ्नुस्ः मोहम्मद ईस्तियाक राई

काठमाडौं । पूर्वमन्त्री एवम् समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले कतिपय मस्जिदमा अझै पनि नमाज पढ्नका लागि धेरै संख्यामा मानिस उपस्थित हुने गरेको भन्दै चिन्ता जनाएका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका राईले विज्ञप्ति जारी गरेर सामाजिक दूरी कायम राख्न मुस्लिम समुदायलाई आग्रह गरेका छन् । उनले अन्य सावधानीका उपायहरू नअपनाउने गरेको देखिएको भन्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले दिएको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसविरुद्धको लडाइँ जित्न भौतिक रूपमा सामाजिक दूरी कायम राख्दै समाजमा एकता प्रस्तुत गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।

अहिले पनि मस्जिदमा गएर नमाज पढ्दै आइरहेका सम्पूर्ण मुस्लिम दाजुभाइलाई घरमै बसेर नमाज पढ्न सांसद राईले आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारीसँग लड्न तत्कालका लागि लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु नै निर्विकल्प उपाय भएको उनले बताएका छन् ।

‘नमाज पढ्दै आएको मस्जिदमा कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवधिमा कोही विदेशी नागरिक आएर आश्रय लिइरहेको भए उहाँहरूलाई सम्बन्धित पालिकामार्फत अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेतर्फ केन्द्रित हुन पनि हार्दिक अपिल गर्दछु। साथै कोरोना भाइरस संक्रमणको जोखिममा रहेका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा बसिदिनुहुन अनुरोध गर्दछु’, विज्ञप्तिमा उनले भनेका छन् ।

Published : Monday, 2020 April 13, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया