राप्ती गाउँपालिकामा खाद्य सामग्री वितरण, घर–टोलमै पुग्यो टोली

तीर्थराज ज्ञवाली

मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिकाका वडाहरूले लकडाउनका कारण प्रभावित अति विपन्न घरपरिवारलाई राहत प्रदान गर्न शुरु गरेका छन् ।

गाउँपालिकाका ९ वटै वडाहरूबाट अति विपन्न घरपरिवारलाई चामल, नुन, तेल लगायतका खाद्य सामग्री वितरण शुरु गरिएको हो ।

दैनिक रुपमा कामकाज गरेर दैनिक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

करीव १० हजार बढी घरधुरी र ५३ हजार धेरै जनसंख्या रहेको राप्ती गाउँपालिकामा करीव १ हजार बढी अति विपन्न घरधुरीलाई यस लकडाउनका कारण प्रथम चरणमा खाद्य समस्या पर्न गएकाले टोल बस्तीमा गएर प्रथम चरणको राहतका सामाग्री वितरण गरिएको चौधरीले बताए ।

अर्को चरणमा राहत प्राप्त गर्ने घरधुरीमा बृद्धि हुने अनुमान गाउँपालिकाको छ । राहतको प्याकेज निर्माण गरेर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाले जानकारी दिए ।

वडाका जनप्रतिनिधि र कर्मचारीहरू घरमा गएर परिवार संख्याको आधारमा प्रथम चरणमा ५ देखि १० किलो चामल, एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुई पिस साबुन वितरण गरिएको छ ।

गाउँपालिकाले वडा नम्बर १ मा ३५ परिवारलाई प्रथम चरणमा राहत वितरण गरेको वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर २ का १ सय २ भन्दा धेरै घरधुरीलाई खाद्य सामग्री उपलब्ध गरिएको वडासचिव सीता भण्डारी आचार्यले जानकारी दिएकी छिन् ।

लकडाउनका कारण अति विपन्न परिवारहरू समस्या परेपछि खाद्यान्न सहयोग गरिएको वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिए ।

खुरुरिया, बागढड्डी, बसन्तापुर, आर्दश टोल (मसुरिया), आचार्य टोल (मसुरीया), बड्का टोल (मसुरीया), छुट्की टोल (मसुरिया), उत्तर मसुरिया, चौधघरे (मसुरिया), नयाँबस्ती (मसुरिया), पैसट्ठी नम्वर गाउँ रहेको वडा नम्बर ३ का करीव १ सय बढी परिवारलाई राहत सामग्री वितरण गरिरहेको वडासचिव दामोदर पोख्रेलले जानकारी दिए ।

वडा नम्बर ४ मा रहेका मझनीगढ, सिमलखुटटी बुढीचौर, पिपरखुटी, गोपीनाला, मौरीघाट, चतुरुवा मौरीघाट, शिव मन्दिर मौरीघाट, मौरिघाट, जनकपुर मौरीघाट, नयाँगाउँ, सुन्दरपुर, उत्तर खिनैटा, खिनैटा, दक्षिण खिनैटा गाउँका ५५ घर परिवारलाई प्रथम चरणमा राहत वितरण गरिएको वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षत्रीले जानकारी दिए ।

वडा नम्बर ५ को लठ्ठहवा, करङ्गेकोट, सिसहनियाँ (कमलरोड), प्रगतिनगर, पहरुवा, कालापानी, सिङ्गे, थकरीकोट, भुल्के गाउँका अति विपन्न करीव ८० घरपरिवारलाई वडा कार्यालयको तर्फवाट प्रथम चरणमा राहत सामाग्री सहयोग गरिने गर्ने वडाध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।

वडा नम्बर ६ को बगरापुर, सगरापुर, भगवानपुर, मझेरिया, पत्थरगढवा गाउँका १ सय घरधुरीलाई टोल सुधार संस्थाको माध्यमबाट राहत वितरण गरिएको वडासचिव मंगलप्रसाद चौधरीले बताए ।

राप्ती गाउँपालिकाको वडा नम्बर ७ ले भानपुर, अर्नाहनपुर, जितपुर, छोट्की सिसहनियाँ, बड्का सिसहनियाँ, जगपुर गाउँका ८८ घर परिवारलाई राहत वितरण गरिएको छ ।

वडा नम्बर ८ का पिपरी, पिपरा, विजौरी, कोहलवा शंकरटोल, बुद्ध टोल, ईन्द्रिनी टोल, सगरमाथा टोल, शान्ति टोलका ८५ घर परिवारलाई राहत वितरण गर्ने योजना रहेको वडाध्यक्ष गोकर्णबहादुर राना मगरले बताए ।

देविकोट, रुपाकोट, छुचुन्द्रे, चन्दौली, बरडाँडा, तल्लो घोसखोला, सोतीटोल, सल्ले लगायतका गाउँ रहेको राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा ७० घरधुरीलाई राहत वितरण गरिरहेको वडाध्यक्ष रिमबहादुर सुनारीले बताए ।

Published : Friday, 2020 April 3, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया