प्रचण्डलाई रिप लेख्ने एसपी पन्तको चितवनमा सरूवा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा नेपाल प्रहरीकी उपरीक्षक (एसपी) गंगा पन्तको सरूवा भएको छ ।

चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएपछि एसपी पन्तलाई चितवन सरूवा गरिएको हो ।

चितवन जिल्लामा एसपी मल्लले राम्रोसँग जिम्मेवारी सम्हाल्न नसकेको भनेर आलोचना हुँदै आएको थियो । मल्लले अवैध बालुवाखानी, क्रसर, नदी उत्खननमा सहयोग गरेर रकम कुम्ल्याएको आरोप छ ।

प्रधान कार्यालयले एसपी मल्ललाई चितवनबाट हटाएर उनको ठाउँमा एसपी पन्तलाई पठाएको छ ।

एसपी पन्तले प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा ‘रिप’ लेखेकी थिइन् ।

०७३ सालमा प्रचण्ड प्रधानमन्त्री थिए । त्यतिबेला डीएसपी रहेकी पन्तले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई ‘रिप’ लेख्दै श्रद्धाञ्जलि दिएकी थिइन् ।

सामाजिक सञ्जालमा अमितसिंह कार्कीको स्टाटसमा कमेन्ट गर्दै उनले पदीय मर्यादाविपरीतको कमेन्ट गरेकी थिइन् ।

उनको कमेन्ट नवराज सिलवाललाई महानिरीक्षक नबनाएर जयबहादुर चन्दलाई बनाएकोप्रति लक्षित थियो ।

महानिरीक्षकका लागि तात्कालीन डीआइजी नवराज सिलवालले लविङ गरेपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नेपाली कांग्रेसका सभापति देउवाको दवावमा डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेका थिए ।

तात्कालीन माओवादी–कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले सुझबुझपूर्ण निर्णय लिएको भन्दै कार्कीले फेसबुकमा प्रचण्डको प्रशंसा गरेका थिए ।

कार्कीले फेसबुकमा लेखेका थिए, ‘साहस त देउवाको जस्तो हुनुपर्छ । तिमी पानी मरुवाहरूको के काम ? आफ्नो सभापतिको विरोध गरेर गुट, उपगुटको राजनीतिलाई प्रश्रय दिन खोज्दा ठूलो दुर्घटनामा परिएला । आइजीपीको कारणले होइन, सबैले बुझ्न जरुरी छ । लोकतन्त्र मास्ने ठूलो षड्यन्त्र थियो, जो देउवा अनि प्रचण्डले कूशलतापूर्वक समाधान गरे ।’

कार्कीले तात्कालीन डीआइजी नवराज सिलवालको प्रयासको विरोध गर्दै ओली–प्रचण्ड निर्णयको समर्थन गरेका थिए ।

कार्कीको स्टाटसमा तत्कालीन डिएसपी (हाल एसपी) रहेकी गंगा पन्तले ‘रिप’ भन्दै कमेन्ट गरेकी थिइन् ।

तिनै पन्तलाई अहिले नेपाल प्रहरीले प्रचण्डको गृहजिल्लामा प्रहरी प्रमुख बनाएर पठाएको छ ।

Published : Friday, 2019 December 20, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया