ओखलढुंगामा शिक्षकद्वारा किशोरीलाई मुक्का प्रहार

ओखलढुंगा । ओखलढुंगा जिल्लामा शिक्षकको कुटाइबाट एक जना किशोरी घाइते भएकी छिन् ।

लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वरमा रहेको भीमसेनस्थान माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत ११ वर्षीया किशोरी पार्वती श्रेष्ठ शिक्षकको कुटाइबाट बेहोस भएकी हुन् ।

सोमबार कक्षाभित्र हल्ला गरेको आरोपमा विद्यालयका शिक्षक दीपक तामाङले ढाडमा कुटेपछि पार्वती बेहोस भएको अभिभावकले बताएका छन् । पार्वतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पार्वती बेहोस हुनासाथ विद्यालय नजिकै रहेको मेडिकलमा उपचार गरिएको पीडितका आफन्तले बताएका छन् ।

शिक्षक तामाङले कक्षा सञ्चालन भइरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा दुई मुक्का हानेको पार्वती श्रेष्ठले बताइन् ।

आरोपित शिक्षक तामाङले कक्षा सञ्चालनका समयमा हल्ला गरेपछि आफूले सामान्य सजाय दिएपनि बेहोस हुने गरी नकुटेको बताएका छन् ।

Published : Wednesday, 2019 December 18, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया