खाडी मुलुककाे भिषा त्यागेर गायनमा लागेँः गायक परियार

विजय परियार, गायक

काठमाडौं । सामान्य परिवारमा जन्मिएका गायक विजय परियारले काठमाडौंको बसाइँ जति सजिलो हुन्छ भनेर सोँचेका थिए । सोँचेभन्दा ठीक फरक पाए । उनलाई काठमाडौंले मायाभन्दा पनि धेरै ठक्कर दिएको छ ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिकाअन्तर्गत हापुरमा ०४६ सालमा जन्मिएका परियारलाई सानैदेखि गायनमा सौख थियो । आफ्नै गाउँका चर्चित संगीतकार सन्तोष श्रेष्ठले गीत गाएको बेलाबेला सुनेका परियारलाई पनि गायक बन्न पाइयो भने नाम, काम र दाम सजिलै कमाइ हुन्थ्यो भनेर सोँच्ने गर्थे । उनी भन्छन्, ‘म सानो छँदा गायक रामकृष्ण ढकालका गीतबाट प्रभावित थिएँ । गाउँकै संगीतकार दाई सन्तोष श्रेष्ठले मञ्चमा गीत गाएको देख्दा झन् के–के नै जस्तो लाग्थ्यो ।’

विद्यालयमा अध्ययन गर्ने बेला गायन क्षेत्रमा परियारले जसरी सोँचेका थिए, यो क्षेत्र त्यस्तो नरहेको बताए । ‘गीत संगीत भनेको ठूलो साधना रहेछ । साधनाले मात्रै पनि नपुग्दो रहेछ । काठमाडौंमा आफूलाई साथ दिनेहरू पनि चाहिँदो रहेछ’, उनले भने, ‘बाटो बनाउँदै छु । सिक्दै छु । ठक्कर खाँदै छु । एक दिन मेरो उदेश्यमा सफल हुनेछु ।’

दाङबाट काठमाडौंमा छिरेपछि गायक परियारले ७–८ वटा गीतमा स्वर दिइसकेका छन् । सबै कुरा पैसा मात्रै पनि केही होइन भन्ने उनको बुझाइ छ । ‘पैसा सबै कुरा हुन्थ्यो भने लाखौँ, करोडौं कमाइ गर्नेहरू पनि छन् । सम्पत्ति धेरै भएका व्यक्तिहरू पनि छन्’, उनले भने, ‘उनीहरूसँग मेरो जस्तो गायन कला छैन । उनीहरूसँग जस्तो मसँग पैसा छैन ।’ गायक परियारले आफू गायनमा खुसी भएको बताउँछन् । भन्छन्, ‘म गायन मै खुसी छु । सबैभन्दा ठूलो कुरा खुसी हुन सिक्नु पनि हो ।’

गायक परियारले ०६६/६७ सालदेखि गायनमा प्रवेश गरेका हुन् । उनले पहिलो गीत मावि रतनपुरमा गाएको सम्झिन्छन् । उनले त्यस बेला गायक कृष्णभक्त राईको स्वर रहेको ‘नमुछे आमा दहीमा टीका…’ बोलको गीत गाएका थिए । अहिले पनि त्यो गीत गाएको उनलाई ताजा स्मरण छ ।

परियारले आफ्नो स्वरमा आधुनिक गीत ‘कहाँ छौ कहाँ…’ पहिलो गीत रेकर्ड गराएका थिए । यो गीतमा बसन्त राठौरले संगीत दिएका छन् । शब्द भने दीपक दाहालले लेखेका छन् । उनी आधुनिक गीतका राम्रा गायक हुन् ।

त्यसपछि उनले ‘माया गर्छु भन्ने यहाँ धेरै धेरै पाइँदो रहेछ…’ बोलको आधुनिक गीतमा स्वर दिए । यो गीतमा परियारलाई चर्चित गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । यो गीतमा शब्द सञ्जय दाहाल र संगीत अर्जुन पोखरेलले दिएका छन् ।

रेडियो नेपालले ०६६ सालमा आयोजना गरेको खुला आधुनिक गीत प्रतियोगितामा गायक परियारको स्वर प्रदेश ५ मा उत्कृष्ठ भएको थियो । रेडियो नेपालकै राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा परियारले गाएको गीत उत्कृष्ठ भएको थियो । परियारले संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई गाएका थिए । रेडियो नेपालको प्रतियोगितामा गायक परियारले ‘त्यो बादलुको अटालीमा…’ बोलको गीत गाएका थिए ।

गायक परियारले गायिका कोमल ओलीका गीत पनि मन पराउँछन् । भन्छन्, ‘कोमल दिदी धेरै वरिष्ठ गायिका हुनुहुन्छ । उहाँको स्वर मन पर्छ । अहिले त उहाँ राष्ट्रिय सभाको सांसद हुनुहुन्छ ।’ गायिका ओली तपाईको जिल्लाबासी हुनुहुन्छ तपाईलाई देखेका बेला चिन्नु हुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘मलाई विजय परियार भनेर चिन्नु हुन्छ जस्तो लाग्दैन । भेटेको बेला के छ बाबु भन्नु हुन्छु । खुसी लाग्छ ।’

काठमाडौंको बसाइँ महँगो छ । जीवनयापनका लागि गायक परियारले लोकदोहोरी साँझमा गीत गाउँछन् । ‘काठमाडौंको बसाइँ महँगो छ’, उनले भने, ‘गीत मात्रै गाएर नहुँदो रहेछ । केही त गर्नै पर्‍यो । दोहोरी साँझमा गीत गाउँछु ।’ दोहोरी साँझमा गीत गाउन रमाइलो हुन्छ होला है भनेर सोधिएको जिज्ञासामा गायक परियारले भने, ‘शुरुमा रमाइला लाग्यो । अब त बाध्यता पनि भयो । कहिले काहीँ झञ्झट लाग्छ ।’

गीत संगीत मै लाग्नु हुन्छ कि पलायन हुने योजना छ भन्ने जिज्ञासामा गायक परियारले भने, ‘अब गायकबाट टाढा हुन्छु जस्तो लाग्दैन । जे हुन्छ अब गीत संगीतमा हुन्छ । मेहन गर्छु । राम्रा गीत गाउँछु ।’ गायक परियारलाई यस्तो समय पनि आएको थियो कि गीत संगीत सबै छाडेर खाडी मुलुक गएर पैसा कमाउने योजना बनाएका थिए । उनले पासपोर्ट बनाएर भीषाका लागि अप्लाई पनि गरेका थिए । भाग्यको लेखा अर्कै रहेछ । उनको भीष आउन ढिला भयो । त्यति बेलासम्म उनले विदेश जाने योजना त्यागिसकेका थिए । गायक परियार अब जे हुन्छ गीत संगीतमै हुन्छ भनेर लागेका छन् । गायक परियारले चण्डीप्रसाद काफ्लेसँग गीत संगीतका बारेमा प्रशिक्षण लिन थालेका छन् ।

गायक परियारले आफूले स्वर दिएको पहिलो आधुनिक गीतबाट अवार्ड पाएका थिए । उनले म्युजिक खबर अवार्ड पाउँदा सबै कुरा जिते जस्तो भएको स्मरण सुनाए । त्यति मात्रै होइन गायक परियारले ०६६ सालमा गृहजिल्ला दाङमा ईन्द्रेणी आईडल भएको थियो । ईन्द्रेणी आईडलको पनि उनी विजेता भएका थिए ।
गायन क्षेत्रमा लागेपछि घरपरिवारबाट गायक परियारलाई धेरै साथ थिएन । सकेसम्म उनले गायनलाई छाडेर अन्य कुनै पेसा व्यवसाय गरेर पैसा कमाओस् भन्ने चाहना थियो । अहिले भने परिवारभित्र उनलाई बुझ्न थालेका छन् । गायक परियारले पनि आफूलाई परिस्किृत बनाउँदै लगेका छन् । आफ्नो दायरा फराकिलो बनाइरहेका छन् । उनी भन्छन्, ‘म एक दिन सफल गायक बन्नेछु । मेरो उदेश्यमा पूरा हुनेछु ।’

Published : Friday, 2019 December 13, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया