प्रहरीले दमन जारी राखे तरुणले जनतालाई सुरक्षा दिन्छः तरुण दल

काठमाडौं । नेपाल तरुण दलले बाँकेको कोहलपुरमा प्रहरीद्वारा विद्यार्थीमाथि गरिएको दमनको विरोध गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेर प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको प्रहरीको टोलीले साना बालबालिकाहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको जनाएका छन् ।

‘कोहलपुरमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय जाँदै गर्दा अनियन्त्रित तीव्र गतिमा आएको मालबाहक ट्रकले ठक्कर दिएर घाइते बनाएको छ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘त्यसपछि उत्पन्न परिस्थितिप्रति नेपाल तरुण दलको गम्भर ध्यानाकार्षण भएको छ ।’

‘प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको प्रहरीको टोलीले किताब र कलम बोक्ने विद्यार्थीले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्दै लाठी चार्ज र गोली चलाई विदार्थीसहित दर्जनौँ सर्वसाधारणलाई घाइते बनाइको घटनाको नेपाल तरुण दल घोर निन्द र भर्त्सना गर्दछ’, तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।

‘उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरूको निःशुल्क रुपमा सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारबाहीको प्रक्रिया थालनी गर्न नेपाल तरुण दल जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘सरकारले घटनाको मर्मलाई बेवास्ता गर्दै जनताको न्यायिक आवाज दबाउन यसरी नै दमन गर्दै जाने हो भनेर नेपाली तरुण दल जनताको जिउ ज्यानको रक्षा र न्यायको लागि कठोर निर्णय गर्न बाध्य हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘त्यसबाट उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी दिन चाहन्छौँ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

Published : Monday, 2019 December 9, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया