केशव आचार्यले कम्युनिस्टले जस्तो झुठ बोल्नु हुन्नः राजु खनाल

तुलसीपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले दाङ क्षेत्र नम्बर ३ ‘ख’मा पार्टीका तर्फबाट उम्मेदवार बनेका केशव आचार्यलाई मतदान गर्न अपील गरेका छन् ।

प्रदेश सभातर्फका उम्मेदवार आचार्यको पक्षमा शनिबार आयोजित चुनावी कार्यक्रमहरूलाई सम्बोधन गर्दै युवा नेता खनालले उपनिर्वाचन नेपाली कांग्रेसका लागि जीवनमरणको विषय भएको बताए ।

‘पार्टीले केशव आचार्यज्यूलाई टिकट दिएर उहाँको योगदानको कदर गरेको छ’, खनालले भने, ‘कम्युनिस्टहरूले जस्तो झुठ बोल्न उहाँलाई आउँदैन । मतदान गरेर उहाँलाई जिताइ दिनुस् । हामी सबै कांग्रेसको अपील छ ।’

दाङ क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा उपनिर्वाचनका क्रममा शनिबार दङ्गीशरण गाउँपालिका वार्ड नम्बर १ र २ मा चुनावी सभा भएको थियो । चुनावी सभामा उल्लेख्य जनसहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, नेता गेहेन्द्र गिरी, उम्मेदवार केशव आचार्य, नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 November 16, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया