देश बनाउन राजनीतिमा आउने रवि लामिछानेको संकेत

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणपछि धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेले भविष्यमा आफू राजनीतिमा आउन सक्ने संकेत दिएका छन् ।

चितवनको भरतपुरमा मंगलबार बिहान पत्रकार सम्मेलन गरेर लामिछानेले मिडियाबाट समाज परिवर्तन गर्न कठिन भयो भने राजनीतिमा जान पनि तयार रहेको संकेत गरेका हुन् ।

रवि लामिछानेलाई देशको उच्च (प्रधानमन्त्री) पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासा छ नि भन्ने प्रश्नको जवाफमा लामिछानले राजनीतिमा जानका लागि आफूले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताए ।

‘अहिले तत्काल राजनीतिमा आउँनेभन्दा पनि अहिले भएका नेताहरू र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा म छु’, लामिछानेले भनेका छन् ।

जनताको भोट लिएर आएका नेताहरूले आफ्नो धरातल बिर्सन नहुने लामिछानेले बताए । उनले आफूले सञ्चार क्षेत्रबाट त्यो काम गर्ने बताएका छन् ।

आफू अब अझ थप बलियो भएर आउँने लामिछानेले बताएका छन् । उनले आफूले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

‘आजको दिनमा म सत्य, तथ्य र निष्पक्ष बाटोमा छ’, लामिछानेले भने, ‘कसैसँग व्यक्तिगत रिसिबी छैन ।’ उनले आउने दिनमा जनताको सानाभन्दा साना कुरालाई मिडियामा ल्याइदिने प्रतिवद्धता जनाएका छन् । ‘ठूला मिडियामा कहिल्यै पनि पीरमर्कामा परेका जनताको पीडा कहिल्यै पनि आएनन्’, उनले भने, ‘ती पीडालाई मैले आगामी दिनमा झन् स्थान दिनेछु ।’

आफूले प्रदर्शनका क्रममा प्रहरीको हिरासतमा भएका आफ्ना समर्थकहरूलाई भेट गरेको उनले बताए । उनले उनीहरूको रिहाइ पनि माग गरेका छन् ।

लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी किनारमा धन्यवाद सभा गर्ने जानकारी दिइएका छन् ।

Published : Tuesday, 2019 August 27, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया