दुईतिहाइको कम्युनिस्ट सरकारका मन्त्रीहरूको खुट्टाबाट जुत्ता गायब

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारको पहिलो पटक भिडियो कलमार्फत मन्त्रिपरिषदको बैठक बसेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारका लागि बैंककमा रहेका कारण सोमबार भिडियो कलमार्फत मन्त्रिपरिषदको बैठक बसेको हो । भिडियो कलमार्फत बैठक बसेको समाचारको चर्चा देश विदेशतिर भएको छ ।

नेपाल सरकारका मन्त्रीहरू जुत्ता खोलेर बैठकमा बसेको विषय यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ट्वीट गर्दै मन्त्रीहरूलाई ठूला मालिकप्रति अदव दर्शाउन जुत्ता खोलेर बैठकमा बसेको भनी टिप्पणी गरेका छन् ।

‘नेपाल राज्यका मन्त्रीहरू । जुत्ता चप्पल बाहिरै खोलेर मन्त्रिपरिषदको बैठकमा ! हिलो धुलोमा टेक्नै नपर्ने तिनले बैठक कक्षमा सफा जुत्ता समेत लाउन किन पाएनन् ?’, प्रश्न गर्दै दाहालले भनेका छन्, ‘के जुत्ता लगाएरै बैठकमा बस्ने ठूला मालिकप्रति अदव दर्शाउन ?’

रामेश कोइरालाले पनि भिडियो कलमार्फत बसेको मन्त्रिपरिषद बैठक र मन्त्रीहरूलाई जुत्ता खोल्न लगाइएको विषयको आलोचना गरेका छन् ।

हिलो र सडकमा हिँड्नै नपर्ने मन्त्रीहरूलाई मन्त्रिपरिषदको बैठकमा सहभागी हुँदा जुत्ता खोल्न लगाएको विषयलाई धेरैले आलोचनात्मक रुपमा हेरेका छन् । आलोचकहरूले कम्युनिस्ट भएर पनि सामन्त व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका हुन् ।

‘गम्भीर छलफल र निर्णय हुने मन्त्रिपरिषदको बैठक यस्तो हावातालको सिट प्लान, हेर्दैमा बैठकको अजेण्डा नै नभएको र कम्प्युटर भएको कोठामा जुत्ता खोल्ने नियम लगाउने बैठक संयोजक को हुनुहुँदो रछ ?’, ट्वीट गर्दै उनले भनेका छन्, ‘योभन्दा राम्ररी भिडियो च्याट चैँ दशैँमा हर्केकै घरमा गर्छन् है । स्मार्ट पिपलहरू !’

भिडियो कलमार्फत बसेको मन्त्रिपरिषदको बैठकमा सहभागी भएका मन्त्रीहरूले जुत्ता बाहिरै राखेर लस्करै कुर्सीमा बसेका छन् ।

मन्त्रीहरूलाई समेत जुत्ता खोल्न लगाएर बैठकमा राखेको विषय सामाजिक सञ्जालमा आलोचनाको बनेको छ ।

Published : Tuesday, 2019 August 27, 6:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया