रवि रिहा, लाखौँ शुभेच्छुकहरू खुसी, फूलमालाले स्वागत

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई रिहाइ गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको एकल ईजलासले रवि लामिछाने, युवराज कँडेललाई धरौटीमा छाड्न आदेश दिएको लामिछानेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए ।

न्यायाधीश रावलले रुकु भनिने अस्मिता कार्कीलाई भने साधारण तारखेमा छाड्न आदेश दिएका छन् ।

जिल्ला अदालत चिवतनले रवि लामिछालाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटी माग गरेको छ । अस्मितालाई साधारण तारेखमा छाडिएको छ ।

उनीहरूलाई केही कानूनी प्रक्रिया पुराएर अहिले केही समयपछि घर जान पाउनेछन् ।

चिवतन जिल्ला अदालतको प्रारम्भीक आदेशपछि उनीहरूले बाहिर बसेर कानूनी लडाइँ लड्नुपर्नेछ ।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रवि लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक स्टेटमेन्ट माग गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीले ज्यान दिनु अगाडि रेकर्ड गरेको भिडियोमा रविसँग अकुत सम्पत्ति रहेको बताएका थिए ।

सोही भिडियो र त्यसपछि प्राप्त केही प्रमाणका आधारमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सीआईबीले बैंकिङ विवरण उपलब्ध गराइदिन बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको हो ।

सिआईबी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत रविलगायतका आरोपितको बैंक खाता विवरण माग गरेको हो ।

यसअघि,

शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने र ‘रुकु’ भनिने अस्मिता कार्कीको बयान बाझिएको छ ।

पुडासैनीकी कथित प्रेमिका कार्कीले सरकारी वकिलमार्फत आइतबार अदालतमा पेश गरेको अभियोग पत्रमा रविलाई आफ्नो प्रेम प्रसंगको विषयमा सबै जानकारी भएको उल्लेख छ ।

रविको बयानमा कार्कीलाई नचिनेको दाबी गरिएको छ । सोमबार जिल्ला अदालत चितवनमा दिइएको बयानमा रविले कार्कीलाई नचिनेको दावी गरेका हुन् ।

रवि लामिछानेले रुकु कार्कीलाई प्रहरी नियन्त्रणमा पहिलो पल्ट भेटेको बयानमा भनेका छन् ।

लामिछानेले बयानमा भनेका छन्, ‘शालिकराम पुडासैनीले करीव डेढ वर्ष पहिले २–३ वटा सान्दर्भिक सूचना ल्याई हाम्रो कार्यालयमा आई हामीसँग सम्पर्क गरेकाले सोही क्रममा चिनजान भएको हो ।’

‘शालिकराम पुडासैनीले राम्रो सूचना ल्याउन सक्ने सोँची म र दीपक बोहराले सिफारिस गरी निजलाई न्युज २४ टेलिभिजनमा रिपोर्टरको रुपमा काममा राखेका थियौं’, रविले भनेका छन् ।

‘शालिकराम पुडासैनीले पाउने सेवा सुविधाको बारेमा मलाई केही थाहा थिएन । उनले काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सूचना ल्याउने गर्थे’, रविले बयानमा भनेका छन्, ‘शालिकरामले कम्प्युटर चलाउन नजान्ने भएकाले उनले ल्याएको सूचना प्रतिवादी युवराज कँडेलले पूरा गरी समाचार बनाई मलाई दिने गर्थे । उनको बारेमा अन्य केही पनि जानकारी थिएन ।’

‘करीव २ महिना पहिले शालिकरामले मैले माउण्टेन टिभीमा एकलाख तलब पाउने गरी मार्केटिङको काम पाए’, बयानमा रविले भनेका छन्, ‘अब न्युज २४ टेलिभिजन छोडे भनेका थिए ।’

‘पछि शालिकरामले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा शालिकरामले मलाई किन ढाटेको होला भन्ने लागेको थियो’, रविले भनेका छन्, ‘वारदातको २–३ दिन पहिले हाम्रो क्यामेरा म्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीसँगै भएको बेला शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगी रहेको भनेको सुनेको थिए ।’

‘साउन २० गते मेरो कार्यक्रम नभएकोले चाँडै सुतें, भोलिपल्ट बिहान ब्युझिई मोवाईल हेर्दा शालिकराम पुडासैनीको मृत्यु सम्बन्धका म्यासेजहरू २० गते राति नै आइसकेका रहेछन्’, लामिछानेले भनेका छन्, ‘शालिकरामले मर्नुअघि बनाएका २ वटा भिडियोहरू हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले ज्यान दिन बाध्य बनाएकोले ज्यान दिएको भनेका रहेछन् ।’

‘सो कुरा शालिकरामले के कति कारणले भने मलाई थाहा छैन । तर शालिकरामले आफ्नो श्रीमती हुँदा हुँदै प्रतिवादी अस्मिता कार्कीलाई झुटोवोली आफूसँग प्रेम गरेको र पछि शालिकरामको प्रेमिका अस्मिताले सबै कुरा थाहा पाई शालिकरामबाट टाढिन खोज्दा शालिकरामले अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरीदिन्छु भनि डर देखाउने जस्ता कार्यहरू गर्ने गरेकाले अस्मिताले मैले चलाउने सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनि सार्वजनिक गरीदिने भनेको कारणले सोही कुरालाई शालिकरामले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई ज्यान दिएको हुनुपर्छ ।’

रवि लामिछानेले बयानमा भनेका छन्, ‘मैले शालिकराम पुडासैनीको विरूद्दमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ ।’

‘शालिकराम पुडासैनीले मलाई अत्याधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको व्यक्तिले उनका बिरूद्द कार्यक्रम बनाउने भन्ने भ्रामक कुराले शालिकरामको मन दुखेको हुन सक्छ र ममाथी अरोप लगाएको हुन सक्छ’, रविले भनेका छन्, ‘तर मैले शालिकरामलाई ज्यान दिनेसम्मको दुःख दिएको पनि छैन र दिनुपर्ने कुनै कारण पनि छैन ।’

‘शालिकराम पुडासैनीकी प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देख भेट भएको थिएन’, उनले भनेका छन्, ‘प्रहरीद्वारा पक्राउ परे पश्चातमात्र देखे, चिनेको हुँ ।’

Published : Monday, 2019 August 26, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया