अदालत पुगे लामिछाने, सन्नाटामा चितवन, आज हुन सक्छ भाग्यको फैसला

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा जिल्ला अदालत चितवनले न्युज २४ टेलिभिजनका पत्रकार युवराज कँडेलको बयान लिन शुरु गरेको छ ।

सोमबार कार्यालय खुल्ने वित्तिकै कँडेलको बयान लिन थालिएको हो । आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान लिन लागिएको छ ।

बयानका लागि लामिछाने र कँडेललाई बिहान अदालतमा लगिएको छ । पहिला कँडेलको बयान लिने काम शुरु भएको अदातलका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् ।

चितवन जिल्ला अदालतका एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिन शुरु भएको छ ।

कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान लिने काम हुनेछ । बयान लिने कार्य सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ ।

बयान लिएर बहस गर्ने काम सोमबार नै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ ।

बहसका लागि वकिलहरू धेरै भएकाले सोमबार नै सकिने वा नसकिने यकिन छैन ।

पक्ष विपक्षमा बहस सकिए उनीहरूलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेमध्ये कुनै एक आदेश अदालतले दिन सक्नेछ ।

पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलमा ज्यान दिएका थिए ।

पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफूले ज्यान दिएको भिडियो मोबाइलमा छाडेका थिए ।

मोबाइलको भिडियो बाहिरिएपछि साउन ३० गते तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

रवि लामिछानेका समर्थकहरूले ठूला प्रदर्शनहरू गर्न थालेपछि स्थानीय प्रशासनले चितवनका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासनले चितवनमा सुरक्षाकर्मीलाई बाक्लै रुपमा सडकमा उतारेको छ ।

Published : Monday, 2019 August 26, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया