दाङमा बिहानै रवि लामिछानेको समर्थनमा भव्य प्रदर्शन (तस्वीर)

घोराही । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा दाङ जिल्लामा शुभेच्छुकहरूले प्रदर्शन गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा सोमबार बिहान रवि लामिछानेका समर्थकले ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरू रवि लामिछाने निर्दोष रहेको भन्दै रिहाइको माग गरेका छन् ।

सयौँको संख्यामा सडकमा उत्रिएका रवि लामिछानेका शुभेच्छुकहरूले निर्दोष व्यक्तिलाई फसाएर अन्याय गरिएको दाबी समेत गरेका छन् ।

चितवन जिल्ला अदालतमा रवि लामिछानेसहित तीन जनाको शालिकराम पुडासैनी प्रकरणमा बयान चलेको छ । उनीहरू एघार दिनदेखि चितवन प्रहरीको हिरासतमा छन् ।

सोमबार बयान सकियो भने रवि लामिछानेको थुनछेकको बहस हुनेछ ।

चितवन जिल्लामा रवि लामिछानेका समर्थकहरूले आन्दोलन चर्काउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको हो ।

ती ठाउँमा पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन पाइने छैन । रवि लामिछानेका समर्थकहरूको आन्दोलनबाट तर्सिएको चितवनको स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

सोमबार बिहानैदेखि सुरक्षाकर्मी चितवनका मुख्य सडक र चोकमा खटिएका छन् ।

उता, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई बोलेकै आधारमा दुरुत्साहन नहुँने बताएका छन् । ‘नाम लिएको भरमा दुरुत्साहत मुद्धा हुँदैन । ज्यान दिने बेला मान्छेले सत्य बोल्छ भन्ने कानूनी प्रक्रिया छ । प्रमाणमा लिन मिल्छ’, नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग सोमबार बिहान कुरा गर्दै उनले भनेका छन् ।

‘नाम लिएर हुँदैन । त्यसलाई पुष्टि हुनुपर्छ । त्यो कुरालाई अन्य स्वतन्त्र कुराले पुष्टि गर्नुपर्छ’, अधिवक्ता भट्टराईले भनेका छन्, ‘यो घटनाले नयाँ बहस सिर्जना भएको छ । न्यायाधीशले कस्तो फैसला गर्लान् भनेर हेरिएको छ । जनमत विभाजित भएको छ ।’

Published : Monday, 2019 August 26, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया