गुटगत राजनीतिले कांग्रेस धरासायी हुन थाल्योः डा.शशांक कोइराला

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको गुटगत राजनीतिले धरासायी हुन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले गढवा गाउँपालिका वडा नं. ५ बाँकीमा आइतबार आयोजना गरेको हातेमालो तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले आगामी निर्वाचनमा नेपाली कांग्रेस एकताबद्ध भए कसैले हराउन नसक्ने दावी गरे ।

‘नेपाली कांग्रेस एकताबद्ध हुने हो भने ठूलो शक्ति हो’, उनले भने, ‘चुनावमा कसैसंग मिलेर जानु हुँदैन । नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्छ ।’

पार्टीलाई एकीकृत गरेर लैजानुपर्नेमा डा.कोइरालाले जोड दिए । ‘आन्तरिक द्वन्द्व र गुटले पार्टीलाई असर गर्छ’, उनले भने, ‘पार्टीलाई एकीकृत गरेर लैजानुपर्ने आवश्यकता छ ।’

अर्का केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले दुईतिहाइको कम्युनिस्ट सरकार भएको देशमा जनता धेरै निरासामा पर्नु दुर्भाग्य भएको बताए ।

‘जनता निरास छन् । दुईतिहाइको कम्युनिस्ट सरकार छ । तर, ओली सरकारले जनताको निरासा हटाउन सकेन’, डा.रिजालले भने, ‘जनतालाई सरकारप्रति विश्वास नहुँदा निरासा बढी छायो ।’

जनताको चाहनाअनुसार सरकारले कामै गर्न नसकेको दावी उनको छ । देशमा विप्लव नेतृत्वको नेकपाको गतिविधि र प्रधानमन्त्री केपी ओलीको हठले अशान्ति सृजना गरेको बताए ।

नेपाली कांग्रेसका कार्यकर्तालाई तीन तहको सरकारको गतिविधिलाई नजिकबाट नियाल्न र खबरदारी गर्न डा.रिजालले निर्देशन दिए । ‘जनप्रतिनिधिले बदमासी गर्छ भने खबरदारी गर्नुहोस्’, उनले भने, ‘जनताको चाहनाअनुसार सरकारले काम गर्नुपर्छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीलाई बलियो बनाउने जिम्मेवारी कार्यकर्ताको हातमा रहेको बताए । ‘दाङमा नेपाली कांग्रेस कहिल्यै कमजोर भएन । तर, अघिल्लो चुनावमा हार खान पुग्यो’, गिरीले भने, ‘आउने चुनावमा नेपाली कांग्रेसले सबै तहको चुनाव जित्ने गरी अघि लाग्न जरुरी छ ।’

केन्द्रीय सदस्य रामकृष्ण यादवले नेपाली कांग्रेस पार्टी इतिहाँस बोकेको पार्टी भएको भन्दै कहिल्यै इमान नहार्ने बताए ।

‘सत्तामा रहँदा या नरहँदा जनताकै पक्षमा काम गर्ने हामीले नै हो’, उनले भने, ‘नेपाली कांग्रेस बलियो भयो भने मात्रै जनता बलियो हुन पाउँछन् ।’

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पार्वती डिसी चौधरी, सञ्जय गौतम, अनिता देवकोटा, योगेन्द्र चौधरी, राजु खनाल, सुशीला चौधरी, नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगी, विन्तिराम यादव, हीरालाल चौधरी, पूर्वजिल्ला सभापति बिर्खेश्वरी गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेससंग पार्टी समायोजन भएको लोकतान्त्रिक फोरम पार्टीमा आवद्ध भएका कार्यकर्तालाई समितिले दिने प्रतिवेदनका आधारमा जिम्मेवारी दिइने केन्द्रीय नेताहरूले आश्वासन दिएका छन् ।

कांग्रेसको प्रशिक्षण अभियान

नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले वडास्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । पार्टीमा आवद्ध भएका कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै संगठित गर्ने अभियान सञ्चालन गरिएको छ ।

केन्द्रीय नेतृत्वको उपस्थितिमा नेपाली कांग्रेस क्षेत्र नं. १ ले प्रशिक्षण अभियानको उद्घाटन गरिएको हो ।

क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षता एवम् महामन्त्री डा.शशांक कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षण थालिएको हो ।

दाङ जिल्लामा नेपाली कांग्रेसलाई पुनः विगत जस्तै शक्तीशाली बनाउने अभियानमा इमानदार भएर जुट्न निर्देशन दिइएको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १४ जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

क्षेत्रीय उपसभापति देवांगजन चौधरीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए ।

Published : Monday, 2019 August 26, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया