कम्युनिस्ट सत्ताद्वारा दाङमा कांग्रेस निकटका शिक्षकमाथि अन्याय, शुरू भयाे ‘बगावत’

घोराही । नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघ दाङले सत्तारुढ दलको इच्छा पूरा गर्न आस्थाको आधारमा नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई भेदभाग गरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ ।

संघका अध्यक्ष युवराज बस्नेत र सचिव प्रकाश डाँगीले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर शिक्षकको सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट संघमा आबद्ध शिक्षकहरूलाई बञ्चित गर्ने गरी दाङमा गतिविधि भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको जनाइएको छ ।

जिल्ला शिक्षा विकास समन्वय ईकाइ, गाउँ र नगर शिक्षा समितिहरूले नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरूलाई भेदभाव हुने गरी काम गरेको प्रमाण आफूहरूलाई प्राप्त भएको संघले जनाएको छ ।

त्यस्ता कार्यका बिरुद्ध कडा आन्दोलन गर्ने निर्णयमा पुुगेको संघले चेतावनी दिएको छ ।

सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिविधिहरूप्रति आपत्ति र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनशील र राजनीतिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनीतिक हस्तक्षप नगर्न संघले सचेत गराएको छ ।

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले शिक्षा प्रमीहरूलाई आश्चर्यचकित पारेको भन्दै विज्ञप्तिमा यस्ता विकृति र विसंगतीहरूलाई अन्त्य गर्न जस्तो सुकै कडा कदम चाल्न संघ तत्पर रहेको जनाइएको छ ।

राजनीतिक हस्तक्षेपका बिरुद्ध बिरोध कार्यक्रमहरू गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । आफूहरूको बिरोधका कार्यक्रमहरूले शिक्षा क्षेत्रमा देखापर्ने असुविधाहरूप्रति सम्वन्धित पक्ष नै जवाफदेही हुनुपर्ने संघले जनाएको छ ।

सत्ताको उन्मादविरुद्ध हुने नेपाल शिक्षक संघको सशक्त बिरोध कार्यक्रममा सक्रिय रुपमा सहभागी हुन सम्पूर्ण शिक्षकहरूलाई अपील गरिएको छ ।

दुईतिहाइको कम्युनिस्ट सरकारले नेपाली कांग्रेस निकटका शिक्षकहरूलाई दाङमा मात्र नभइ देशैभरि पेलानमा पारेको आरोप बढिरहेका बेला दाङमा शिक्षकहरू आन्दोलित भएका हुन् ।

यसैबीच, नेपाल शिक्षक संघ दाङले सत्ताको आडमा जिल्लाका केही स्थानीय तहले भेदभाव गरेको विरोधमा देउखुरी क्षेत्रका प्रधानाध्यापकहरूसँग अन्र्तक्रिया गरेको छ ।

संघको जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार संघले देउखुरी क्षेत्रका विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

आस्थाका आधारमा संघमा आवद्ध शिक्षकहरूलाई सरुवा, पदस्थापना, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा तर्साउने कार्य भइरहेको निष्कर्ष निकाल्दै छलफलले त्यस्ता कार्य जारी रहे आन्दोलनमा जाने निर्णय गरेको छ ।

आस्थाका आधारमा शिक्षकमाथि हुने भेदभावप्रति सजक रहँदै त्यसका बिरुद्ध सक्रिय रुपमा आन्दोलनका लागि तयारी अवस्था रहने निर्णय भेलाले गरेको नेपाल शक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिए ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा एंव संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका प्रदेश ५ का अध्यक्ष अर्जुनकुमार योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

भेलामा बोल्ने वक्ताले शैक्षिक गुणस्तरीयता वृद्धि र संगठन सुद्धीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

संघका जिल्ला कार्यसमितिको बैठकले दाङका केही तहका स्थानीय तहले आस्थाका आधारमा भेदभाव गरिरहेको निष्कर्ष निकाल्दै देउखुरी, घोराही र तुल्सीपुरमा सम्वन्धित क्षेत्रका प्रधानाध्यापक र संघका स्थानीय तहका पदाधिकारी सहितको छलफल गर्ने निर्णय गरेको थियो ।

Published : Sunday, 2019 August 18, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया