पाेखरामा बामदेवलाई राेक्न पूर्वमाओवादीहरू सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले प्रभावशाली नेता बामदेव गौतमलाई महत्वपूर्ण जिम्मेवारी दिइएकोमा असन्तुष्टि जनाएका छन् ।

नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने नेता गजुरेलले पार्टीभित्र बहस भइरहेको विषयमा गौतमले अनायश्यक रुपमा सार्वजनिक अभिव्यक्ति दिने गरेको बताए । गौतमले केही दैनिक पत्रिकाहरूमा दिएका पार्टीका बिचारलाई गजुरेलले असन्तुष्टि जनाएका छन् ।

नेता गजुरेलले गौतमलाई पद र प्रतिष्ठाका लागि आशक्त भएर नलाग्न सुझाव दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै गजुरेलले गौतमलाई पोखराबाट उम्मेदवार नबन्न घुमाउरो भाषामा सल्लाह दिएका छन् । पोखरा अहिलेको समयमा गौतमका लागि उपयुक्त नरहेको उनको भनाइ थियो ।

नेता गजुरेलले भने, ‘बामदेवजी पोखरामा उठ्न खोज्नु भएको बुझिन्छ । यसले उहाँलाई र पार्टीलाई राम्रो गरेको छैन । पद र प्रतिष्ठाका लागि उपयुक्त होइन ।’

‘पदका लागि आशक्त हुन भएन । चितुवा कराउनु र बाख्रा हराउनु उस्तै–उस्तै भएको छ’, नेता गजुरेलले भने, ‘बामदेवजीले पोखराबाट उम्मेदवार बन्ने संकेत गर्नुभएको छ । उहाँलाई टिकट दिने निर्णय पार्टीले गरेको छैन ।’

उपनिर्वाचनमा पहिलाको जस्तो त्यो उत्साह र उमंग नरहेको गजुरेलले बताए । ‘चुनावमा जो पायो त्यो उठेर जित्दैन । बाम गठबन्धनको मर्मअनुसार भएको छैन’, उनले भने, ‘जित्नका लागि समय सापेक्ष र उपयुक्त व्यक्तिलाई टिकट दिनुपर्छ ।’

बामदेव गौतमले काठमाडौंका एक जना सांसदलाई हटाएर उम्मेदवार बन्न खोजेको प्रशंग कोट्याउँदै नेता गजुरेलले भने, ‘यस्ता कुराले उहाँको छवि राम्रो बनेको छैन ।’

गौतमलाई संगठन विभाग प्रमुख दिइएको छ । साथै उनलाई नेकपाको वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरिएको छ ।

Published : Sunday, 2019 August 18, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया