डडेल्धुरा कांग्रेसभित्रको विवाद सल्कियो, मल्ललाई कारबाही गर्न उजुरी

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति कर्णबहादुर मल्ललाई कारबाहीको माग उठेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत रहेका मल्लमाथि कारबाही गर्न दवाव परेको हो । पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको माग भएपछि मल्लमाथि कारबाही हुने तयारी भएको स्रोतले जनाएको छ ।

डडेल्धुराका ४० जनाभन्दा बढी नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कारवाहीको मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

आफ्नै गृहजिल्ला डडेल्धुरामा पार्टीभित्रको विवाद बढ्दै जाँदा मिलाउने प्रयासमा रहेका देउवालाई जिल्लाका कांग्रेस नेताहरूले मल्ललाई कारबाही गरेर भएपनि पार्टी बचाउन माग गरेका हुन् ।

जिल्ला सभापति मल्ललाई कारबाही नगरे आफूहरू पार्टीमा सक्रिय नरहने चेतावनी देउवालाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख छ ।

देउवा सहभागी कार्यक्रममा कुर्ची प्रहार गर्न लगाएको, देउवा पत्नी डा.आरजु राणका बिरुद्ध जथाभावी कुरा बोल्ने गरेको, स्थानीय निर्वाचनमा पार्टीलाई हराउन लागेको, पार्टीलाई जिल्लामा कमजोर बनाएको लगायतका आरोप मल्लमाथि लगाइएको छ ।

जिल्ला सदरमुकाम अमरगढीमा समेत नेपाली कांग्रेस हार्नुको मुख्य कारण जिल्ला सभापति मल्ल रहेको आरोप ज्ञापन पत्रमा लगाइएको छ ।

ज्ञापन पत्र बुझ्दै पार्टी सभापति देउवाले मल्ललाई कारवाही गर्ने आश्वासन समेत दिएको जनाइएको छ ।

सभापति देउवाबिरुद्ध मल्लले विभिन्न गतिबिधि गरेपनि मल्ललाई सुध्रिने मौका दिएर कारबाही गर्न आनाकानी गर्दै आएका छन् । तर, देउवाको यो सदासयतालाई मल्लले कमजोरीका रुपमा प्रयोग गरेको डडेल्धुरामा चर्चा छ ।

मल्ललाई प्रदेश सभाको टिकट नदिन डडेल्धुराका नेताहरूले गरेको दवावलाई अस्वीकार गर्दै सभापति देउवाले मल्ललाई टिकट दिएका थिए ।

नेपाल महिला संघका कारण डडेल्धुरा कांग्रेसभित्र विवाद छ । विवाद बढ्दै जाँदा पार्टी कार्यालयमा महिला संघका पदाधिकारीमाथि कुटपिट भएको थियो ।

सभपाति मल्ल समूहले कुटपिट नभई पार्टी कार्यालयमा तोडफोड गरेको आरोप लगाउँदै आएको छ ।

सोही विषयमा डडेल्धुराका जिल्ला सभापति मल्लले आफ्नो पक्षमा ६० जिल्ला सभापतिहरूको विज्ञप्ति निकाल्न लगाएका थिए ।

Published : Sunday, 2019 August 18, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया