नगरकोटका पीडितले ‘सूर्य’मा भेट नदिने, जनतालाई कांग्रेसले दियो साथ

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक वन मासेर निर्माण गरेको अवैध घरटहरा भत्काएपछि स्थानीयवासी साना व्यवसायीले विरोध गरेका छन् ।

आफैले मतदान गरेर जिताएका जनप्रतिनिधिहरूले घर तथा टहराहरू हटाउने तयारी गरेपछि नगरकोटका पीडितहरूले शनिबार विरोध कार्यक्रम गरेर विभिन्न राजनीतिक पार्टीले विरोध जनाएका हुन् । पीडितहरूले अबका दिनमा आफैले मतदान गरेको चुनाव चिन्हमा ‘सूर्य’मा कुन पनि हालतमा मतदान नगर्ने चेतावनी दिए ।

पीडित व्यवसायीहरूको आन्दोलनमा नेपाली कांग्रेस, नेपाल तरुण दल भक्तपुर, सत्तारुढ नेकपा, नेमकिपा, राप्रपासहितका दलहरूका नेताहरू ऐक्यवद्धता जनाएका थिए ।

वन क्षेत्रमा अवैधरूपमा निर्माण गरी सञ्चालन भएको २० व्यावसायिक घरटहरा नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि साना तथा मझौला व्यवसायीले विरोध गरेका हुन् ।

नगरपालिकाले अटेर गरेर सञ्चालनमा रहेका थप अवैध टहरा भदौ २ गतेदेखि भत्काउन माइकिङ गरेपनि व्यवसायीहरूले नगरपालिकाले विकल्प नदिई हटाउन हुने भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरले व्यवसाय गरिरहेका पीडितहरूको मागलाई पहिला सम्बोधन गरेर मात्रै घर तथा टहराहरू हटाउनुपर्ने धारणा राख्दै आएको छ । जथाभावी रुपमा टहराहरू भत्काउँदा पीडितहरूको जनजीवन झन् कष्टकर बन्ने उनीहरूले बताएका छन् ।

नगरपालिकाको अवैध टहरा हटाउने अभियानविरुद्ध अवैधरूपमा सञ्चालित होटल तथा रेष्टुरेष्ट सञ्चालकलाई सत्तापक्षबाहेकका दलहरूले साथ दिएका छन् ।

नगरकोट बसपार्कमा साना तथा मझौला व्यवसायीले नेतृत्वमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी माओवादीलगायत राजनीतिक दल र स्थानीय व्यवसायीले विरोध र्‍यालीसहित कोणसभाको आयोजना गरी नगरपालिकाको अवैध टहरा हटाउने अभियानको विरोध गरेको हो ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का पूर्वसभापति कृष्ण भडेलले नगरपालिकाले नगरकोटका बासिन्दाले नगरपालिका भएको आभाष गर्न नपाएको बताए । उनले अहिले एउटा वडा कार्यालयबाट हुने सरकारी सेवा प्रवाहमा पार्टीको झण्डा राखेर राजनीतिक आस्थाका आधारमा विभेद हुने गरेको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय सरकारले जनताको भावना विपरीत उनीहरू बस्दै र व्यवसाय सञ्चालन गर्दै आएको टहरा भत्काएर जनताको भावनालाई कुल्चिएको आरोप लगाए ।

नेपाल मजदुर किसान पार्टीका युवानेता कुमार तामाङ, क्रान्तिकारी माओवादीका सुरेन्द्र तामाङ, संघर्ष समितिका संयोजक दिलीप गुरुङ, व्यवसायी धनबहादुर लामा, स्थानीय साना तथा मझौला व्यवसायीहरूले नगरकोटमा अतिक्रमण गरी बनेका घरटहरा भत्काउँदा नगरपालिकाले विकल्प दिनुपर्ने बताए ।

नगरकोट बजार क्षेत्रमा काठमाडौं, भक्तपुर र काभ्रेमा समेत गरी करीब ३०० घरटहरा वनको जग्गामा बनेका छन् ।

यी जिल्लाका वन कार्यालय, जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहले अतिक्रमण गरी घरटहरा भत्काउन सूचित गरेपनि स्थानीयवासीले नभत्काएको जनाइएको छ ।

Published : Saturday, 2019 August 17, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया