रामहरि खतिवडाले स्मरण गराइदिए माधव नेपाललाई कांग्रेसको हैसियत

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विगतको आफ्नो हैसियत नभुल्न सुझाव दिएका छन् ।

नेता नेपालले नेपाली कांग्रेस र मधेश केन्द्रित दलको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा भएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि खतिवडा भड्किएका हुन् ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा नेकपाका नेता नेपालले नेपाली कांग्रेस र मधेशी दल पनि पार्टी हुन् र ? भन्दै संशय व्यक्त गरेका थिए ।

नेता नेपालले नेपाली राजनीतिमा कम्युनिष्ट पार्टी बाहेक अरु कसैको विकल्प नभएको समेत दाबी गरेका थिए ।

नेता नेपालको जवाफमा नेपाली कांग्रेसका युवा नेता खतिवडाले विगतमा दुई वटा निर्वाचनबाट समेत पराजित भएका व्यक्तिलाई नेपाली कांग्रेसले प्रधानमन्त्री बनाएको विगतको इतिहाँस नभुल्न सुझाव दिए ।

‘रौतहट र काठमाडौंबाट पराजित हुनु भएका माधवकुमार नेपाललाई सांसद बनाएर प्रधानमन्त्री बनाएको विगत अझै मरेको छैन’, खतिवडाले भने, ‘आफ्नो विगतको समाप्त भइसकेको राजनीतिलाई नेपाली कांग्रेसले बचाइदिएको इतिहाँस भुल्नु भएकोमा माधवकुमार नेपालजीलाई धन्यावाद ।’

नेता नेपाललाई तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सांसद बनाउन प्रस्ताव गरेका थिए । दाहालको प्रस्तावलाई नेपाली कांग्रेसले स्वीकार गरको थियो ।

सांसद बनेपछि नेता नेपाललाई प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बनाइदिएका थिए ।

Published : Saturday, 2019 August 17, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया