दाङमा नेकपाका सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश, कम्युनिस्टभित्र रुवाबासी (तस्वीर)

तुलसीपुर । दुईतिहाइको कम्युनिस्ट सरकारको दब्दवा रहेका बेला दाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

दाङ जिल्लाको दंगीशरण गाउँपालिकास्थित गोलटाकुरीको बाकीमा शनिबार आयोजित कार्यक्रममा नेकपाका सयौं कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले कांग्रेसमा भित्र्याएका हुन् ।

नेकपाका कार्यकर्तालाई नेता गिरीले टीका लगाई नेपाली कांग्रेसका प्रवेश गराएको दाङ कांग्रेसले जनाएको छ ।

नवप्रवेशीहरूले कम्युनिस्टहरू अराजक, भ्रष्टाचारी, देशद्रोही, जनादेश विरोधी भएको आरोप लगाउँदै देश र जनताको हितको लागि नेपाली कांग्रेसमा प्रवेश गरेको जनाए ।

उनीहरूले नेपाली कांग्रेसको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरीले कम्युनिस्टहरूमा दुईतिहाइको दम्भले गर्दा देश र जनताले दुःख पाएको बताए । नेता गिरीले अबको उपनिर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन् ।

उनले गुट र उपगुटको कुरालाई छाडेर कांग्रेसलाई बचाउन लाग्नुपर्ने बताए । त्यसका लागि उपनिर्वाचन नेपाली कांग्रेसको पक्षमा हुनुपर्ने गिरीले उल्लेख गरे ।

उपनिर्वाचनकाे बेला नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि कम्युनिस्टहरूमा तनावकाे अवस्था सिर्रजना भएकाे छ ।

Published : Saturday, 2019 August 17, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया