रवि लामिछानेका शुभेच्छुकहरूलाई ‘काउन्टर’ जवाफ, माहोल मोडियो

भरतपुर । माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा स्वतन्त्र छानविनको माग गर्दै आफन्त र शुभेच्छुकहरूले चितवनको भरतपुरमा प्रदर्शन गरेका छन् ।

आफन्त र शुभेच्छुकहरूले शनिबार बिहान पुडासैनीलाई न्याय दिलाउन भन्दै प्रदर्शन गरेका हुन् ।

स्वस्फुर्त रुपमा जम्मा भएका उनीहरूले प्लेकार्डसहित नारावाजी र जुलुश निकालेका छन् ।

पुडासैनीले ज्यान दिनुभन्दा अगाडि बनाएको भिडियोमा न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफूलाई ज्यान दिन बाध्य पारेको बताएपछि अनुसन्धानका लागि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका छन् ।

उनीहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्‍याइएको थियो । शुक्रबार पाँच दिन म्याद थप गरेर अनुसन्धान शुरु गरिएको छ ।

शुक्रबार दिनभर लामिछानेका समर्थक, राप्रपा र राजावादीहरूले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाइने भन्दै नारा जुलुश गरेको चर्चा थियो ।

शनिबार बिहानै चितवनका स्थानीय युवाहरूले कानुन सम्मत छानविन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चौवीसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।

यो घटनाले लामिछानेका कथित शुभेच्छुकहरूलाई झट्का लागेको छ ।

Published : Saturday, 2019 August 17, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया