उपनिर्वाचनमा कांग्रेसको जित नै एकताको सन्देश होः देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूले जिताउन निर्देशन दिएका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अबको उपनिर्वाचनलाई कांग्रेसले जित्नुपर्ने बताए ।

‘उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नुपर्छ । टिकट पाउनलाई जिताउनुपर्छ’, उनले भने, ‘कांग्रेसले जित्यो भने यहीबाट एकताको सुरुवात हुन्छ ।’

‘हामी एक भएर लाग्नुपर्छ । चुनाव जिताएर आउनुपर्छ’, उनले भने, ‘पार्टी एकताको सुरुवात यहीँबाट हुन्छ । उपनिर्वाचन नेपाली कांग्रेसको एकताको सन्देश हुनेछ ।’

सभापति देउवाले वर्तमान सरकार निरंकुश बन्ने योजनाका साथ आएको बताए । ‘मिडिया काउन्सिल विधेयक डर लाग्दो स्वरुपमा ल्याइएको छ’, उनले भने, ‘देशमा अधिनायकवादी निरंकुशता ल्याउन खोजिएको छ ।’

नेपाली कांग्रेसका सभापति देउवाले सुशील कोइरालाको नेतृत्वमा ल्याइएको संविधानलाई गलत रुपमा प्रयोग गर्न खोजिएको उनले बताए ।

सभापति देउवाले मिडिया विधेयक आफ्नो खिलाफमा समाचार लेख्न नपाओस् भनेर ल्याइएको बताए ।

‘देशमा अप्रजातान्त्रिक व्यवस्थाको सुरुवात भएको छ’, उनले भने, ‘प्रेसको अधिकार खोस्ने काम हुँदै छ । मानवअधिकार आयोग स्वतन्त्र हुन्छ । आयोगलाई पनि नियन्त्रण गर्न खोजिएको छ ।’

सभापति देउवाले नेपाली सेनालाई परिचालन सुरक्षा परिषदबाट गर्ने व्यवस्थालाई प्रधानमन्त्री केपी ओलीले आफ्नो मातहतमा लैजान खोजेको बताए ।

देशमा बढ्दै गरेको निरंकुशता र अधिनायकवादविरुद्ध नेपाली कांग्रेसले डटेर सामना गर्ने देउवाको चेतावनी थियो ।

Published : Friday, 2019 August 16, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया