ओलीको कम्युनिस्ट सरकार निरंकुश बन्योः देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइको आडमा कम्युनिस्ट सरकार निरंकुश बन्दै गएको बताएका छन् ।

भक्तपुरको मध्यपुर थिमिमा शनिबार लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए ।

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको उनको आरोप छ ।

देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको देउवाले कार्यक्रममा आरोप लगाएका छन् ।

सभापति देउवाले प्रेस स्वतन्त्रताको महत्त्वपूर्ण जग र नागरिकको महत्त्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको आरोप लगाए ।

सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संघर्षरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उनले बताए ।

देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशनसमेत दिएका छन् ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुंगाना, डा.गोविन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गरेका थिए ।

उनीहरूले अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताएका छन् ।

Published : Saturday, 2019 August 3, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया