विश्वप्रकाश र गगनको सुझावले कांग्रेसभित्र हलचल, माहाेल नै तात्तियाे

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको विवादलाई सहमतिमा कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेका छन् ।

ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई क्रियाशील बनाउँदै कांग्रेसका नेताहरूका बीचदेखिएको विवादलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, गगनकुमार थापा, गुरुराज घिमिरे, बीरबहादुर बलायर, प्रवक्ता विश्वप्रकाश शर्मा, किरण यादव, बहादुरसिंह (लामा) तामाङ र आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला (पौडेल) ले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

बैठकमा प्रवक्ता शर्मा र थापाले पार्टीभित्रको विवादलाई मिलाएर जाँदा नेपाली कांग्रेसका कार्यकर्ताहरूमा नयाँ उर्जा थपिने बताएका थिए ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन १४ गते मंगलबार दिनको १ बजे पुनः बस्नेछ ।

बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङका पूर्व सभापति एवं नेपाल भूतपूर्व सैनिक संघका वर्तमान केन्द्रीय सदस्य डीबी राईकी ६२ वर्षीय धर्मपत्नी मनमाया राईको साउन १३ गते निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटका उपसभापति सर्पराज रावतको ८९ वर्षीय पिता पार्टीका क्रियाशील सदस्य तिलक रावतको साउन १२ गते निधन भएकोमा पनि नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

भेरी नगरपालिका वडा नं. १३ का क्रियाशील सदस्य १०५ वर्षीय लक्ष्मण बटालाको साउन १२ गते भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरूले पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।’

Published : Monday, 2019 July 29, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया